नेपाली कांग्रेसले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।

शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रिय खेलकुद विभागले सागका स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको हो।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले एकल र टिम स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई नगद तथा सम्मानपत्रसहित सम्मान गरेका थिए।

विभागले एक स्वर्ण विजेतालाई १० हजार, दुई स्वर्ण पदक विजेतालाई जनही १५ हजार, तीन वटा पदक विजेतालाई २० र चार स्वर्ण पदक विजेता गौरिका सिंहलाई २५ हजार तथा सम्मान पत्र प्रदान गरेको हो।

सम्मान कार्यक्रममा कांग्रेस सभापति देउवाले कांग्रेस सधैं खेलाडीको पक्षमा रहेको बताउँदै केही अप्ठेराहरु भए खेलाडीको पक्षमा लाग्न सरकारलाई दबाव दिने बताए।

साथै उनले राष्ट्रमा राजनीतिको एउटा महत्व भएपनि खेल र खेलाडीले राष्ट्रको नाम संसारभर चिनाउन भएकाले यस क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

देउवाले स्वस्थ शरिरले मात्र स्वस्थ मानसिकतासँगै स्वस्थ नागरिक बनाउने पनि बताए।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले पछिल्लो समय देशभरी भयावहको स्थिति उत्पन्न गराएको बताउँदै यस्ता सम्मान कार्यक्रम वा जमघटमा सामाजिक दुरी कायम गराउन सबैले सजग हुनु पर्ने पनि बताए।

कांग्रेस केन्द्रीय खेलकुद बिभागका संयोजक मोहनबहादुर बस्नेतले विगतमा जे जस्ता कमजोरीका कारण खेलकुद क्षेत्रमा समस्या उत्पन्न भयो त्यो समस्या समाधानका लागि आफ्नो विभाग सक्रिय भएर लाग्ने आश्वासन दिए।
साथै उनले जुनसुकै सरकार आएपनि खेल क्षेत्रको विकासमा ध्यान दिनुपर्ने पनि बताए।

खेलकुद विभागले पहिलो चरणमा स्वर्ण पदक विजेतालाई सम्मान गरेपनि आगामी दिनमा राष्ट्रिय प्रशिक्षकहरुलाई पनि सम्मान गर्ने योजना रहेको बताए।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुद र खेलाडीकोे समग्र विकासका लागि आफ्नो नयाँ कार्यकालमा काम गर्ने बताए।

साथै उनले विगतमा खेल क्षेत्रमा चरम राजनीतिले ग्रस्त पार्नुका साथै खेल क्षेत्रलाई अनुत्पादनक क्षेत्र जस्तो गरी व्यवहार गरिएको गुनासो गर्दै यो धारणा बदल्न आग्रह गरे।

यसका साथै सिलवालले खेलकुद ऐन निर्माणका क्रममा संसदमा रहेका दल र सांसदहरुले गम्भीर नहुँदा अझै पनि थुप्रै त्रुटिपूर्ण प्रावधान रहेको गुनासो गरे।

कार्यक्रममा स्वर्ण पदक विजेता मण्डकाजी श्रेष्ठले खेलाडीहरुको सम्मानले आफूहरुलाई उत्साहित बनाएको बताउँदै यसका अतिरिक्त दक्ष खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने तर, समाजमा छाँयामा परेका प्रशिक्षकहरुको सम्मान जरुरी भएको बताए।

काठमाडौं, पोखरा र जनकपुरमा भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक गरी २ सय ७ पदक जितेको थियो। बिभागले अन्य पदक बिजेतालाई पनि क्रमश सम्मान गर्दै जाने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here