मूल्य घटाएपछि इन्डक्सन चुलोको बिक्री बढ्यो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं, असार १३

मूल्य घटाएर इन्डक्सन चुलो बेचेपछि बिक्री बढेको छ।

भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समायोजन गरेर बिक्री गर्न निर्देशन दिएको थियो।

समितिको निर्देशनअनुसार अहिले रु चार हजार मूल्य निर्धारण गरी बिक्री वितरण गरिएको कर्पोरेसनकी सूचना अधिकारी गीता निरौलाले जानकारी दिइन्।

कर्पोरेसनले हालसम्म एक हजार ५०० थान इन्डक्सन चुलो बिक्री गरेको छ। २०७२ मङ्सिर २५ गते चीन सरकारले अनुदानस्वरुप दिएका ११ हजार ३०० चुलोेमध्ये एक हजार ५०० थान मात्र बिक्री भएको हो।

चीन सरकारले अनुदानस्वरुप दिएका चुलोमध्ये सुरुमा एक हजार ३०० थान केरुङ नाकाबाट र पछि १० हजार थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएको थियो।

चीन सरकारले दिने अनुदानस्वरुप रु नौ करोड ५५ लाख मूल्य बराबरका इन्डक्सन चुलो नेपालमा पठाइएको थियो।

आपूर्ति मन्त्रालयका सहसचिव शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा मूल्य निर्धारण गर्न बसेको बैठकले ढुवानी, पारवहन, भन्सार मिनाहासहितको शुल्क जोडेर चुलोको मूल्य रु ११ हजार ९९५ कायम गरेपछि चुलो बिक्री हुन सकेको थिएन। रासस