देवनारायणका छोरा विरुद्ध मादक पदार्थ सेवनदेखि नाबालिका अपहरण गरेको आरोप

देवनारायणका बाबुछोराको रिहाईका लागि सरकारी प्रयास जारी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असाेज १६

सप्तरीको तिलाठी निवासी देवनारायण यादव र उनका छोरालाई भारतीय सुरक्षाकर्मीले नेपालबाट पक्राउ नगरेपनि उनीहरुको रिहाइका लागि सरकारी तहबाट पहल भइरहेको गृहमन्त्रालयले जनाएको छ।

गृह प्रवक्ता रामकृष्ण सुवेदीले हिमाल दैनिकसँग कुरा गर्दै सोमबार दिएको जानकारी अनुसार यादवका बाबु छोरालाई नेपाली भूमिमा आएर भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको होइन।

‘स्थानीय जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार, यादवका छोरा अस्ती शनिबार सीमापारी भारतको कुनौली बजारमा मेला हेर्न केही साथीहरुसँग गएका थिए। उनीहरुले मेलामा मादक पदार्थ सेवन गरी गएर स्थानीय युवासँग झगडा गरेपछि देवनारायणका छोरालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएपछि उनको बारेमा बाबुलाई खबर गरेका थिए,’ प्रवक्ता सुवेदीले भने।

त्यसपछि छोरालाई छुटाउन गएका देवनारायण र त्यहाको प्रहरीबीच विवाद भएपछि सुरक्षाकर्मीले उनलाई पनि उतै राखेको जानकारी प्राप्त हुँनासाथ सप्तरी जिल्ला प्रशासन कार्यालय प्रमुख र सुरक्षा निकायका प्रमुखहरुले यादवका बाबु छोरालाई फिर्ता ल्याउने विषयमा भारतीय सुरक्षा प्रमुखसँग समन्वय गरी वार्ता भइरहेको सुवेदीले बताए।

यसअतिरिक्त देवनारायणका छोरा विरुद्ध तीन महिना अघि भारतीय सिमा क्षेत्रबाट एक नाबालीकालाई भगाएर ल्याई विवाह गरेको भन्दै केटी पक्षका आफन्तहरुले उनी विरुद्ध अपहरणको जाहेरी मुद्दा प्रहरी कार्यालयमा दिएका थिए।

१४ महिना अघि नेपाल र भारतको सिमाक्षेत्रमा पर्ने तिलाठीमा भारतीय पक्षले बाँध बनाउने कोशीश गर्दा देवनारायणसहितका स्थानीय वासिन्दाले नेपाली भूभाग डुबान पर्ने खतरा औंल्याउदै विरोध गरेका थिए। जसमा भारतीय सुरक्षाकर्मीबाट देवनारायण पनि घाइते भएका थिए।