लोडरबाट राजनीतिमा लागेका महतोलाई निधिको प्रश्नः जनअधिकारका लागि जेल गयौ?

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
जनकपुरधाम मंसिर १६

नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यासी विमलेन्द्र निधिले आफ्नो बोलीमा लगाम लगाउन राजपा नेता राजेन्द्र महतोलाई सुझाव दिएका छन्।

भुटको खेती गरेर जनतालाई भ्रमित गर्ने काम बन्द गरी बोलीमा लगाम नकसे जनकपुरको हावाहुरीले महतोलाई बढारिदिने चेतावनी निधिले दिएका हुन्।

शनिबार जनकपुरमा आयोजित चुनावीसभामा बोल्दै नेता निधिले महतोले मर्यादित भाषा र स्वच्छ राजनीति नगरे प्राचिन मिथिलाको राजधानी तथा सीता माताको जन्मभूमि जनकपुर विष्फोट भएर उनलाई बढारिदिन सक्ने भन्दै सचेत रहन सुझाएका हुन।

निधिले भने, ‘सीताको जन्म भूमि जनकपुरको आफ्नै शैली र सभ्यता छ। सीतामाताको तागत विष्फोट भएपछि ठुलाठुला रावणको बोलीमाथि पनि लगाम लागेको छ।

जनकपुरवासीको शालिन सभ्यताको चर्चा गर्दै निधिले भने, ‘हामी हो–हल्ला गर्दनौँ। तर, मौका परेको बेला एकपटक ताके हावा हुरीमा उड्न बेर छैन।’

आफ्नै गृहजिल्ला सर्लाहीमा समेत एक इञ्च विकासको काम नगरेका महतोले अहिले जनकपुरमा बढाई चढाई कुरा गरिरहेकोमा आक्रोसित भएका निधिले भने, ‘चोरले उल्टै कोतवाललाई गाली गर्दैछ। म राष्ट्रिय राजनीति गरिरहँदा उनी त विमानस्थलमा लोडरको ठेकेदारीमा व्यस्त थिए।’

महतोलाई बाटो बिर्सिएर अहिले धनुषाबाट चुनाव लड्न आएको बताउँदै जनताको अधिकारका लागि उनी कतिपटक जेल गए जनतालाई प्रष्ट्याइदिन निधिले चुनौती पनि दिए।

निधिले भने, ‘मुलुकमा प्रजातन्त्र स्थापनाको लागि म बाल्यकालमै जेल परेँ। तर, अहिले अधिकार अधिकार भन्दै हल्ला गरिरहेका उनी कतिपटक जेल परेका छन् तँपाईहरु सोध्नुस,’ आफु मन्त्री हुँदा धनुषा लगायत मधेशका जिल्लाहरुमा सडक सञ्जाल विस्तारको कार्यक्रम ल्याएको भन्दै पटक पटक आपूर्ति र स्वास्थ्य मन्त्री बनेका महतोले मधेशका लागि गरेका कामहरु देखाउन निधिले चुनौती समेत दिए।

उनले भने, ‘आपुर्ति मन्त्रालयमा त उहाँको स्थायी नियुक्ति झैँ थियो। तँपाईहरु सोध्नुस मधेशमा के कति काम गर्नु भएको छ। केबल झुठको खेती गरेर जनता भ्रमित हुनेबला छैनन्।’

नेता निधिले जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी बनाउने आफ्नो चाहना रहेको र यसलाई कसैले रोक्न नसक्ने दावी गरे। जनकपुरलाई प्रदेशको राजधानीका साथै राजर्षि विश्वविद्यालय बनाउन आफु चुनाव लडेको र विश्वविद्यालय बन्नबाट कसैले रोक्न नसक्ने निधिले बताए।

यसैगरी व्यापारीहरुका लागि जटही – ढल्केबर सिक्स लेन सडक निर्माण गरेर जनकपुरलाई व्यापारिक र आर्थिक केन्द्र बनाउने आफु दृढ संकल्पित रहेको समेत उनले बताए। जनकपुरका व्यापारी वर्गका लागि निधिले आफ्नो दिर्घकालीन योजना समेत बताएका छन्।

भारतको कोलकत्तामा लोड गरिएको मालसमान रेलमार्गबाट सोझै जनकपुरसम्म ल्याउने व्यवस्था गर्न आफ्नो दिर्घकालीन योजना रहेको निधिले बताए।

उपचारपछि चुनावी अभियानलाई तीब्रता दिएका निधिले शनिबार स्थानीय विद्यापति चोक, जिरोमाइल, बलवाटोल, वडा नम्बर ११ को हनुमान मन्दिर लगातका स्थानहरुमा आयोजना गरिएको चुनावीसभामा भाग लिएका छन्।

स्थानीय युवा निरज झा गुडुको अध्यक्षतामा सम्पन्न भएको चुनावीसभामा पुर्व सांसद स्मृतिनारायण चौधरी, नेपाली कांग्रेसका नेता ललन चौधरी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, प्रवेश चौधरी, प्राध्यापक बब्लुकान्त ठाकुर लगायतका वक्ताहरुले बोलेका थिए।

त्यसैगरी रामएकबाल साहको अध्यक्षतामा जिरोमाइलमा आयोजित सभामा प्रदेशसभाका उम्मेदवार श्यामप्रसाद साह, पुर्व मेयर बजरंगप्रसाद साह, ब्रम्हदेव साह, डा. गौराङ्ग मिश्र लगायतका वक्ताहरुले कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन जनतालाई आग्रह गरेका थिए।