‘जनता भ्रममा पर्नुहुन्न, समृद्ध नेपालको नेतृत्व गर्ने कांग्रेसले नै हो’ – खाँड

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

पहिलो चरणको निर्वाचन पनि सकिसकेको छ । दोस्रो चरणको निर्वाचन अबको केही दिनभित्रै हुँदैछ । नेपाली कांग्रेसले आफ्नो चुनावी अभियान र रणनीतिलाई कसरी अगाडी बढाउँदैछ ?

नेपाली कांग्रेसका सभापति, वरिष्ठ नेता, महामन्त्री र अन्य नेताहरुले देशभरका विभिन्न आमसभालाई सम्बोधन गरेर चुनावी अभियान अगाडी बढाइरहनु भएको छ ।

पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको ठाउँका पार्टीका नेता र केन्द्रिय सदस्यहरुले दोस्रो चरणको चुनावी अभियानलाई साथ दिइरहनु भएको छ । दोस्रो चरणको निर्वाचन हुने ठाउँमा पार्टीका नेताहरु, उम्मेदवारहरु र कार्यकर्ताहरु कांग्रेसलाई विजयी गराउन प्रचार अभियानमा हुनुहुन्छ ।

यसपालिको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । एकातिर वाम गठबन्धन छ भने अर्कोतिर कांग्रेस आफै लोकतान्त्रिक गठबन्धनको भूमिकामा छ । अहिलेको अवस्थामा आम मतदाताले नेपाली कांग्रेस वा लोकतान्त्रिकलाई भोट दिने आधारहरु के हुन् त ?

देशमा संविधान जारी भइसकेकोले मुलूकलाई अब समृद्धिको अभियानमा अगाडी लैजानु छ । आम नेपाली जनताले पनि अब नेपालमा शान्ति र समृद्धि होस् र सबै नेपाली जनताले नेपालभित्रै रोजगारी प्राप्त गर्नसक्ने, राज्यले शिक्षा, स्वास्थ्य र सुरक्षाको समुचित प्रवन्ध गर्नसक्ने, नागरिकलाई समान सुविधाहरु उपवलब्ध गराओस् भन्ने चाहना गरेका छन् ।

त्यसको पूर्तिका लागि लोकतान्त्रिक मुल्य मान्यताले, लोकतान्त्रिक शासन पद्धतीले मात्रै त्यसलाई समेट्न सक्छ । नेपालको जुन खालको जातीय, भाषिक, राजनैतिक र सामाजिक विविधता छ त्यसलाई लोकतान्त्रिक मुल्य पद्धतीले मात्रै सम्बोधन गर्न सक्छ । एउटा मात्र राजनीतिक दलले सबैलाई समेट्न सक्ने अवस्था छैन ।

विगतमा पनि सकेन र अब पनि सक्दैन । लोकतन्त्र नेपाली कांग्रेसको आस्था हो । लोकतान्त्रिक जीवन पद्धती नेपाली कांग्रेसको जीवन पद्धति पनि हो ।

अन्य राजनीतिक दलहरुले लोकतन्त्रलाई आफ्नो अनुकुल उपयोग गरेको पनि देखिन्छ ।

 

पछिल्लो पटक नेकपा एमाले र माओवादी केन्द्रले जुन किसिमको तालमेल उहाँहरुले गर्नु भएको छ । उहाँहरुले संविधानमा आमूल परिवर्तन गछौँ । व्यवस्थामा आमूल परिवर्तन गर्छौँ । ५० वर्ष सम्म हामीले कम्युनिस्ट शासन चलाउँछौँ भन्ने जो उद्घोष गर्नु भएको छ । त्यसले मुलूकका समस्यालाई सम्बोधन पनि गर्न सक्दैन ।

एउटा तानाशाही खालको शासन थुपरियो भने नेपाली जनतालाई स्वीकार्य हुँदैन । त्यस कारण अहिले देखिएका समस्याको समाधान गर्नका लागि प्रजातान्त्रिक व्यवस्था नै सबैभन्दा उपयुक्त शासन व्यवस्था हो ।

त्यस कारण नेपाली कांग्रेस स्थापना कालदेखि नै २००७ साल, ०१७ साल, ०३६ साल, ०४६, साल ०६२,६३ सालहरुमा लोकतान्त्रिक प्रजातन्त्रको लागि संघर्ष गर्दै आएको छ । जनताले पनि संकटको बेला नेपाली कांग्रेसलाई साथ दिएका छन् ।

पहिलो कुरा मुलूकका सबै समस्याको सम्बोधन गर्दै मेलमिलाप र एकता स्थापना गरेर अगाडी बढ्ने र शान्ति प्रक्रिया टुङ्गोमा पुर्याएर मुलूकमा समृद्धिको थालनी गर्ने नेपाली कांग्रेसको अहिलेको अभियान हो ।

हामीले घोषणापत्रमा पनि भनेका छौँ कोखदेखि शोकसम्म सबै नेपाली जनताको सामाजिक उत्तरदायित्व वहन गर्ने जिम्मेवारी राज्यको हो । गर्भावस्थामा रहेको एउटा शिशुदेखि लिएर युवा, वृद्धहरुको समुचित स्याहार प्रदान गर्दै सुरक्षा प्रदान गर्ने राज्यको दायित्व हो ।

यी कुरा पूरा गर्नका लागि नेपालमा तीव्ररुपमा विकास गर्नु जरुरी छ । यसको लागि लोकतान्त्रिक व्यवस्था अपनाउँदै खुला अर्थतन्त्रको सिद्धान्त अवलम्बन गरेमा विदेशी लगानी पनि भित्रिन्छ र देशमा रोजगारीका अवसरहरु सिर्जना हुन्छन् । मुलूकको मालिक नागरिक, सम्पत्तीको मालिक नागरिक, नागरिकको क्षमता स्वीकार गर्ने पार्टी कांग्रैस हो ।

तर कम्युनिस्टहरुले लगानीमा सरकार वा राज्यको स्वामित्व हुनुपर्छ भन्ने मान्यता बोकेका हुन्छन् । त्यसो भएमा नागरिकले लगानी गर्न रुचाउँदैनन् । अन्तराष्ट्रिय संस्थाहरुले पनि लगानी गर्न मान्दैनन् । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि तीव्र विकास गर्न जरुरी छ । नत्र भने शासन जति बदलिएपनि जनताको अवस्था जहाँको त्यही हुन्छ ।

संविधानलाई सबै जनताको स्वीकार्य बनाउनका लागि, मुलूकमा द्रूत गतिमा विकास गरेर सबै जनतालाई समृद्ध बनाउनका लागि पनि लोकतान्त्रिक मुल्य मान्यता नै चाहिन्छ ।

लोकतान्त्रिक आस्थालाई स्वीकार गर्ने पार्टी नै अहिले मुलूकको लागि स्वीकार्य हुन्छ । त्यो पार्टी नेपाली कांग्रेस हो । देशका लागि विगतमा गरेका कार्यहरु, वर्तमानको भूमिका र भविष्यको गारेटो हेर्दा नेपाली कांग्रैस नै अहिलेको अवस्थामा उपयुक्त हुन्छ ।

 

पहिलो संविधान सभाको निर्वाचन पछि कम्युनिस्ट पार्टीका चार जना प्रधानमन्त्री भए । तर नेपाली जनताले संविधान पाउन सकेनन् । दोस्रो संविधान सभाको नेतृत्व नेपाली कांग्रेसले गरेपछि मुलूकमा पहिलो पटक जनताका प्रतिनिधिले संविधानको निर्माण गर्न सके ।

नेपाली कांग्रसकै नेतृत्वमा त्यसको कार्यान्वयनका लागि देखिएका चुनौतिको समाधान गर्दै, सबै दललाई समेट्दै स्थानीय निर्वाचन पनि सम्पन्न भयो । सबैलाई समेट्नका लागि पनि नेपाली कांग्रेस चाहिन्छ ।

लोकतन्त्रको रक्षाका लागि, राष्ट्रियताको संवद्र्धनका लागि, समतामूलक समाजको निर्माणका लागि र संविधानलाई परिष्कृत गरेर सबैको संविधानको अुनुभूति गराउनका लागि, देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानका लागि पनि अहिले नेपाली कांग्रेसको खाँचो छ । त्यसका लागि आम मतदाताले नेपाली कांग्रेसलाई भोट दिनु पर्छ ।

अहिले सबै दलहरुले आर्थिक समृद्धिको मुद्दाहरु अगाडी सारिरहेका छन् । यही एजेण्डामा दलहरु प्रतिस्पर्धामा उत्रिएको देखिन्छ । वाम गठबन्धनले पनि त्यसलाई अलि बढी जोड गरेको देखिन्छ । यो बेला लोकतान्त्रिक गठबन्धनको आर्थिक समृद्धिको रोडम्याप के हो ?

०४६ सालको आन्दोलन पछि नेपाली कांग्रेसका कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भइसकेपछि उहाँले एक वर्षमा संविधान ल्याउनु भयो र चुनाव पनि सम्पन्न गर्नुभयो । नेपाली कांग्रेसले जुन खालको अर्थनीति नेपालमा अगाडी बढायो । त्यसकारण नेपाल एक किसिमले विकासको पथमा अग्रसर भयो ।

जतिखेर हामीले सरकार लिएका थियौँ त्यतीबेला एउटा मात्रै हवाई सेवा थियो । तर हामीले खुकुलो नीति ल्याए पछि अहिले दशौँ हवाई कम्पनीहरु छन् र सयकडौँ हवाइजहाज, हेलिकोप्टर नेपाली आकाशमा उडिरहेका छन् ।

दुई वटा मात्रै विश्व विद्यालय थिए । तर हामीले जुन किसिमको प्रावधान ल्यायौँ त्यस पछि अहिले दशौँ विश्व विद्यालय अगाडी बढिराखेका छन् । एउटा मात्रै मेडिकल कलेज थियो ।

आज दर्जनौँ मेडिकल कलेज खुलेका छन् । त्यस्तै शैक्षिक क्षेत्रमा राम्रो प्रगती भएको छ । भौतिक पूर्वाधारको कुरा गर्दा अहिले ८० हजार किलोमिटरमा मोटर बाटो बनेको छ । सूचना र सञ्चारको माध्यममा पनि विकास भएको छ । यो सबै उदार अर्थतन्त्र कै प्रतिफल हो ।

१० वर्ष माओवादीको जनयुद्धले नेपालको विकासमा धक्का लगायो । त्यसले मुलूकलाई १० वर्ष पछाडी धकल्यो । तर पनि विद्रोह गरिरहेको माओवादीलाई हामीले शान्ति प्रत्रियामा ल्यायौँ ।

यो सबै गरिसकेपछि अब हाम्रो ध्यान आर्थिक समृद्धि हो । भौतिक विकासलाई तीव्र गतिमा लैजानका लागि, नेपालका प्राकृतिक स्रोत साधनलाई नेपालका जनताको अनुकुल अधिकतम सदुपयोग गर्ने, नेपालको अर्थतन्त्रलाई अत्याधिक विकास गरेर हामीले नेपाली जनतालाई समृद्ध बनाउने हो । त्यसका लागि लोकतान्त्रिक शासन विधि र खुला अर्थनीति नै आवश्यक हुन्छ । जसको निरन्तरता नेपाली कांग्रेस गर्न चाहन्छ ।

अन्त्यमा नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको तर्फबाट के भन्नुहुन्छ ?

अब निर्वाचनमा त सबै दलहरुले भाग लिनु भएको छ । उहाँहरुलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । निर्वाचन अझ प्रतिस्पर्धात्मक भएको छ । जनता नै शक्तिको मूल स्रोत भएको कारण जनतालाई म के भन्न चाहन्छु भने, तपाईहरुले आफूले इच्छाएको पार्टी र प्रतिनिधिलाई मत दिनुस् ।

नेपालमा यति ठूला परिवर्तन भइसके, नेपाल संघीय लोकतान्त्रिक पद्धतिमा हिँडेको छ । निर्वाचनमा सामेल नभएका दलहरुले राजनीतिक हिंसा र द्वन्द्वको बाटोलाई छोड्नु पर्दछ ।

संवादको माध्यमबाटै उहाँहरुले नेपाली जनताको इच्छा र आकांक्षा पूरा गर्न लाग्नु पर्दछ । नेपालले अब हिंसा र विद्रोहलाई थेग्न सक्दैन । १० वर्षे जन आन्दोलनले नेपालको अर्थतन्त्रलाई थिलथिलो पारेको छ । जसका कारण अहिले लाखौँ नेपाली युवा विदेशिन बाध्य भएका छन् । ती सबै नेपालीलाई स्वदेश फर्काएर उनीहरुको योग्यता, क्षमतालाई नेपालको विकासमा सदुपयोग गर्नुपर्छ ।

ठाउँ ठाउँमा विध्वंश मच्चाएर, बम पड्काएर नेपाललाई अगाडी बढाउन सकिँदैन । त्यसका लागि सबै पक्षहरु गम्भीर हुनुपर्छ ।

खासगरी सरकारले यो निर्वाचनलाई बिथोल्न खोज्ने, हिंसा मच्चाउन खोज्ने पार्टीका उम्मेदवार र नेता, कार्यकर्तालाई तह लगाउनका लागि सबै किसिमका सुरक्षा शक्ति परिचालन गरेर मतदातको सुरक्षा, मतपेटिकाको सुरक्षा, निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा, उम्मेदवार र कार्यकर्ताको सुरक्षा गर्नु पर्छ ।