मेलमिलाप, र एकताको बाटोबाट अगाडि बढ्दा आर्थिक समृद्धिको लक्ष्यमा पुग्न सकिन्छः प्रम

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ, १६ माघ

प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद दिवसका अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा शहादत प्राप्त गर्ने सम्पूर्ण वीर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्रप्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान् शहीद तथा प्रजातन्त्र पुनःस्थापना एवं लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि शहादत प्राप्त गर्ने सम्पूर्ण वीर सपूत सबैका पथप्रदर्शक र आदर्श व्यक्तित्व भएको उल्लेख गर्नुभएको छ ।

“शहीदले कल्पना गरेको राजनीतिक पद्धतिको स्थापना गर्न हामी सफल हुन सकेका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई संविधानले कल्पना गरेको तीन वटै तहको निर्वाचन सम्पन्न भइसकेको छ । वर्तमान सरकारले राष्ट्रले सुम्पेका जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरी संविधानको पूर्णरुपमा कार्यान्वयन भएको छ र यससँगै देश नयाँ सरकारप्राप्तिको अन्तिम चरणमा पुगेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले अब शहीदको बलिदानी र त्यागको फलस्वरुप प्राप्त लोकतन्त्रका जगमा देशको आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्नु अपरिहार्य रहेको . बताउँदै यसमा सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

कुनै पनि इष्र्या, वैरभाव र प्रतिशोधको भावनालाई त्यागेर मेलमिलाप, सहकार्य र एकताको बाटोबाट अगाडि बढ्दा मात्र आर्थिक समृद्धिको लक्ष्यमा पुग्न सकिने विश्वास व्यक्त गर्दै उहाँले त्यसो गरेमा मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको छ ।
शहीद घोषणा गरिएकामा स्वागत
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले यसै अवसरमा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन बलिदान गर्ने चार तथा अन्य ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

अध्यक्ष राणाले आज विज्ञप्ति जारी गरी देशमा सशस्त्र युद्धका क्रममा ज्यान गुमाएका आफ्ना पार्टीका तथा अन्य दलका कार्यकर्ता एवं सर्वसाधारणलाई सरकारले हालै शहीद घोषणा गरेकामा स्वागत गर्नुभएको छ । रासस