समानुपातिक नतिजा आज सार्वजनिक गर्ने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं, माघ २५

निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको सिट संख्या आज सार्वजनिक गर्ने भएको छ । संघीय संसदमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने भएकाले आयोगले चुनाव सम्पन्न भएको दुई महिना बितिसक्दा पनि नतिजा घोषणा गरेको थिएन ।

राष्ट्रिय सभा चुनाव सम्पन्न भई नतिजा आइसकेकाले आज प्रतिनिधिसभा चुनावमा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्या आयोगले सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गरेलगत्तै आज दलहरुले प्राप्त गरेको सिट संख्या तोकेर बन्द सूचीमा रहेका उम्मेदवारमध्ये निर्वा्चित हुने उम्मेदवारको नाम सिफारिस गर्न पत्राचार गरिने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

ढकालका अनुसार बन्द सूचीको क्रमसंख्या नमिची क्लस्टर मिलाएर नाम सिफरिस गर्न दलहरुलाई तीन दिनको समय दिइनेछ । दलहरुले गरेको सिफारिस अनुसार समावेशी समूह र क्रम संख्या मिले नमिलेको जाँच गरी नमिलेके भए मात्रै दलहरुलाई सच्याउन पुनः दुई दिनको समय दिइनेछ ।

त्यसपछि लगत्तै निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति समक्ष पेश गरिने आयोगका प्रवक्ता ढकालले बताउनुभयो । आयोगले औपचारिक घोषणा नगरेपनि उनीहरुले प्राप्त गरेको मतको आधारमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम र राजपाले ६र६ सिट प्राप्त गरेका छन् ।