सलमानको रेस-३ वक्स अफिसमा एक्लै दौडियो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

रेमो डिसुजाले निर्देशन गरेको रेस-३ ले अहिले बलिउड वक्स अफिसमा तहल्का मच्चाएको छ।

यसअघिका दुई सेरिजहरु रेस र रेस-२ मा भन्दा रेस-३ ले रिलिज भएको पहिलो हप्तामा नै राम्रो व्यापार गर्न सफल भएको छ।

अभिनेता सलमान खानको मुख्य भूमिका रहेको यस फिल्ममा ज्याक्वीलेन फर्नान्डस्, डेजी शाह, अनिल कपुर, साकिप सलिम जस्ता कलाकारहरुले अभिनय गरेका छन्।

यस्तै धेरैवर्षपछि ववी देवलको हिट कमव्याकको रुपमा पनि रेस-३ लाई हेरिएको छ।

अघिल्ला दुई सिरिजमा मुख्य भूमिका निर्वाह गरेका कलाकार सैफ अलि खान भने यो सिरिजमा संलग्न रहेका छैनन्।

मुस्लिम समुदायको महान पर्व इदको असर पारेर जुन १५ तारिखका दिन रिलिज भएको रेस ३ले पहिलो दिनमा नै २९.१७ करोड भारतीय रुपैयाँको कारोबार गरेर सन २०१८ मा हिन्दी फिल्मले पहिलो दिनमै बढि कमाउने फिल्मको रुपमा दर्ज गराउन सफल भएको छ।

रिलिज भएको तेस्रो दिनसम्म आइपुग्दा सय करोड रुपैयाँको कारोबार गरेर थुप्रै फिल्महरुको रेकर्ड तोड्न पनि सफल भएको छ।

छैटौँ दिनमा आइपुग्दा कुल १४२.०१ करोडको कारोबार गरेको भारतीय मिडियामा उल्लेख छ।

आज यस फिल्मले १५० करोड रुपैयाँ भन्दा बढिको कारोबार गर्न सक्ने अपेक्षा गरिएको छ।

आज शुक्रबारको दिन बलिउडमा कुनै पनि ठूला फिल्महरु रिलिज नहुने भएपछि रेस-३ को लागि अर्को हप्ता पनि एकलौटी वक्स अफिसमा कब्जा जमाउने अनुमान गरेका छन्।

प्रायजसोे चाडपर्वको अवसर पारेर आफ्ना नयाँ फिल्महरु दर्शकमाझ पुग्ने सलमान खान यसपटक पनि आफ्ना दर्शककोे मन जित्न सफल भएका छन्।

सलमान खानका लागि यो सफल कारोबार हुन खासै ठूलो विषय नभएको बताइन्छ।

विगतमा टाइगर जिन्दा है फिल्मले रिलिज भएको पहिलो हप्तामा नै २०६.०४ करोड कमाएको थियो। त्यसैगरी उनको अर्को फिल्म ट्युवलाइटले पहिलो हप्तामा १०६.८६ करोड कमाएपनि त्यसपछिका दिनमा खासै बजार लिन सकेन।

सलमानको सुल्तानले पहिलो हप्तामा नै २२९.१६ करोड, प्रेम रतन धन पायोले १७२.८२ कारोड र बजरंगी भाइजानले १८२.६२ करोड कमाएको थियो। (एजेन्सीकाे सहयाेगमा)