अनिश्चितताको भूमिरीमा रुमलिँदै अर्जेन्टिना र मेस्सी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार १२

विश्वकप फुटबल खेलमा अर्जेन्टिना र त्यसका स्टार खेलाडी लियोनल मेस्सीको बेग्लै छाप रहेको छ।

त्यहि कारण विश्वभरकै अधिकांश फुटबल खेल प्रेमीहरुले उक्त टिमका स्टार खेलाडी मेस्सीको प्रदर्शनमा विश्वास गरेकै कारण एउटा निश्चित चरणसम्मको यात्रा हुने आशा र भरोसा गरेका थिए।

तर, यसपटकको लिग चरण पार गर्ने हुन वा होइनन् त्यसको भरोसा दर्शक त परै जाओस स्वयं मेस्सीलाई पनि छ या छैन यसै भन्न सकिने अवस्था छैन।

लिग चरणका दुई खेलमा समूह ‘डी’ मा रहेको अर्जेन्टिना पहिलो खेलमा अनपेक्षित रुपमा आइसल्याण्डसँग बराबरीमा रोकियो भने अर्को खेलमा क्रोयसियासँग तीन गोलले पराजित भएपछि धरमरको स्थितिमा रहेको मेस्सीको टिम आज मध्यरातमा नाइजेरियासँग भिड्दैछ।

उक्त समूहबाट ६ अंकसहित क्रोयसियाले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ भने अर्को एक स्थानका लागि बाँकी तीन मध्ये जसको खेलसँगै भाग्य चम्कियो उसैले बाजी मार्न सक्ने अवस्था रहेको छ।

यदि आजको खेलमा नाइजेरियाले अर्जेन्टिनालाई पराजित गर्यो भने त्यो अवस्थामा नाइजेरिया अघिल्लो चरणमा पुग्ने छ। तर, नाइजेरिया अर्जेन्टिनासँग पराजित हुने र आइसल्याण्डले क्रोयसियालाई पनि पराजित गर्यो भने गोल अन्तरका आधारमा जुन सुकै टिम पनि नकआउट चरणमा प्रवेश गर्न सक्ने छन्।

अर्जेन्टिना र त्यसका स्टार खेलाडी मेस्सीका लागि आजको खेलमा नाइजेरियालाई पराजित गरेर मात्रै पुग्ने अवस्था छैन। क्रोयसियाले आइसल्याण्डलाई पराजित गरेको अवस्थामा अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्यो भने मात्रै उ समूह उपविजेता बन्ने छ।

तर, क्रोयसिया र आइसल्याण्डबीचको खेल बराबरीमा टुंगिदा अर्जेन्टिनाले समूह प्रवेशका लागि नाइजेरियालाई राम्रै गोल अन्तरले पराजित गर्नु पर्नेछ।