ऋषि धमलाकाे अनुराग हेर्न कलाकार, नेता, मन्त्री सबै हलमा पुगे

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

पत्रकार ऋषि धमलाले निर्माण गरेको नेपाली कथानक चलचित्र अनुरागले दर्शकको राम्रो साथ पाएको छ । धमलाले बनाएको मुभी भएर मुलुकका चर्चित अनुहारहरुले हलमै गएर अनुराग हेरेका छन् ।

म्युजिकल लभस्टोरी रहेको चलचित्रलाई युवा पुस्ताले औद्यी रुचाएका छन् । अहिले अनुरागमा समाहित गीतहरुसमेत जनजीब्रोमा झुण्डिन थालेको छ । अनुराग हेर्न नेता, मन्त्री, उद्योगी, व्यापारी, समाजसेवी, विद्यार्थी, कलाकारहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको छ ।
आज सोमबार अनुरागले काठमाडौंको सिभिल मलमा रहेको क्वि.एफ.एक्स र सिटी सेन्टरमा रहेको बिग मुभिजमा छुट्टाछुट्टै स्पेशल शोको आयोजना गरेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पत्रकार ऋषि धमलाले बनाएको फिल्म भएर आफू अनुराग हेर्न हलमै आएको स्पष्ट पारेका छन् । उनले भने,“सञ्चारकर्मीले हात हालेको फिल्म भएकोले म अनुराग हेर्न हलमै आएको हुँ । यसको कथाबस्तु राम्रो लाग्यो । यो फिल्मले प्रगति र उन्नती हाँसिल गर्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।”

अध्यक्ष तिमिल्सिनासँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र उनकी धर्मपत्नी, बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य, सांसदहरु, बरिष्ठ अधिवक्ताहरु, मानवअधिकारकर्मीहरु र गायक तथा गायिकाहरुको उपस्थिति रहेको थियो ।
मन्त्री पण्डितले चलचित्र हेरेपछि आफू भावुक भएको प्रतिक्रिया दिए । उनले भने,“चलचित्र राम्रो बनेमने छ । यसले युवा पुस्ताको मन जितेको छ । सबैले एकपटक हेर्नुपर्छ ।”

निर्माण पक्षले दिएको जानकारी अनुसार अनुरागसँगै प्रदर्शनमा आएका अन्य चलचित्रहरुभन्दा यो चलचित्रले धेरै राम्रो व्यापार गरेको छ । अनुरागले ओपनिंगमै आक्रमक व्यापार गरेको थियो ।

सत्तारुढ दल नेकपाका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रतिनिधि सभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र भएको बताएका छन् ।

त्यस्तै चर्चित कलाकार जितु नेपालले पनि अनुराग राम्रो बनेको बताए । उनले भने,‘ऋषिजीले बनाएको अनुराग उत्कृष्ट चलचित्र बनेको छ । धमलाजीको एक्लो प्रयास प्रशंसनीय छ ।’
चलचित्र हेर्न हलमा पुगेका दर्शकहरु उत्साहित देखिन्थे । उनीहरुले चलचित्र राम्रो बनेको संक्षिप्त प्रतिक्रिया दिएका छन् । दर्शकहरुले अनुरागको लागि ‘शो’ हरु अझै बढाउनुपर्ने माग गरेका छन् ।

सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सहमहामन्त्री डा. प्रकाशशरण महतले पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग सफल हुने विश्वास व्यक्त गरेका छन् ।उनले भने,“यो चलचित्रमा अहिलेको पुस्ताले चाहेको कुरा आएको छ । फिल्म अत्यन्तै राम्रो बनेको छ । म निकै प्रभावित भएँ । यसको कथावस्तु, प्रस्तुति र प्राविधिक पक्षपनि सवल पाएँ ।”त्यस्तै उनले पत्रकारिता क्षेत्रमा सफल पत्रकार धमलाले नेपाली चलचित्र जगतमा पनि प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै सफलताको लागि शुभकामना दिए ।

बरिष्ठ कलाकार हरिवंश आचार्यले पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग आफूलाई अत्यन्तै राम्रो लागेको बताएका छन् ।
उनले भने,”चलचित्रमा प्रेम कथा रैछ । राम्रो लाग्यो । टेक्निकल्ली स्टोरीपनि राम्रो छ । आँखा प्रत्यारोपणको सन्देश रैछ । मलाई झनै मनपर्यो । म एकैछिन भावुक पनि भएँ । झण्डै आँशु झरेन । एलिजा र समुन्द्रको अभिनय झनै राम्रो लाग्यो । डेब्यु आर्टिष्ट भएरपनि यस्तो बेजोड अभिनय गर्नुभएको छ ।”

त्यस्तै सदावहार नायक एवम् निर्माता भुवन केसीले पनि आफूलाई अनुराग राम्रो लागेको प्रतिक्रिया दिए । उनले भने,”सबैभन्दा पहिला म सत्यराज चौलागाँइ भाई, उनको कामलाई प्रशंसा गर्नुपर्छ । त्यस्तै ऋषि धमलाजी, बरिष्ठ पत्रकार भएरपनि फिल्म उद्योगमा आउनुभएको छ । हामीले उहाँलाई न्यानो स्वागत गर्नुपर्छ ।”

सत्तारुढ दल नेकपाका नेता एवम् प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र भएको बताउँदै एकपटक सबै नेपालीलाई हेरिदिन आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव एवम् पूर्वउपप्रधानमन्त्री सिपी मैनाली पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र ‘अनुराग’को चर्चा तथा परिचर्चा निकै रहेकाले आफू टिकट काटेरै फिल्म हेर्न आएको संक्षिप्त प्रतिक्रिया दिएका थिए । फिल्म राम्रो बनेको र ऋषि धमलाले वाहवाही पाएको भन्दै उनले धमला बधाईको पात्र भएको समेत बताए ।

चलचित्र ‘अनुराग’ हेर्न नेपाल सरकारका मन्त्रीहरु कुमारी हलमा पुगेका छन् । कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी धमलाद्धारा निर्मित चलचित्र अनुराग हेर्न कुमारी हल पुगेका थिए ।
पत्रकारले मुभी बनाउनु खुशीको खबर भएको बताउँदै मन्त्रीद्धयले आफूहरु धमलाले बनाएर र त्यसमा पनि धमलाकी पत्नीको मुख्य भूमिका रहेको थापा पाएर हेर्न आएको संक्षिप्त प्रतिक्रिया दिए ।