सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरण सुरु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, मंसिर २२

सहिद स्मारक ए डिभिजन लिगमा सातौं चरणका खेलहरु शनिबारदेखि सुरु भएका छन्।

सातौ चरणको पहिलो खेलमा नेपाल पुलिस क्लव र हिमालयन शेर्पाले एक÷एक गोलको बराबरीमा चित्त बुझाएका छन्।

हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा पुलिसले सुरुमा एक गोल गरेपनि अग्रता कायम गराउन सकेन।

त्यसो त पुलिसले हिमालयन शेर्पा विरुद्ध सुरुवातदेखि नै पकड बनाएको पुलिसले ३१ औं मिनेटमा अग्रता लिन सफल भयो। उसका लागि भरत शाहले गोल गर्न सफल भए। उनले तेज तामाङको पासलाई सदुपयोग गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको पुलिसले दोस्रो हाफमा पनि निकै राम्रा मौकाहरु पाएको थियो।

५१ औं मिनेटमा पुलिसले गरेको प्रहारले सहि दिशा लिन नसक्दा अग्रता दोब्बर गर्ने मौका गुमायो।

६७ औं मिनेटमा पुलिसका रवी पासवानको प्रहार हिमालयनका किशोर गिरीले बचाए। एक गोलले पछि परेको हिमालयशेर्पाले ७० औं मिनेटमा खेल बराबरी गर्न सफल भयो।

रवी मगरले मिलाएको बललाई विश्वास श्रेष्ठले उत्कृष्ट गोल गर्दै टिमका लागि गोल गरे। ८० औं मिनेटमा पुलिसले अर्को मौका पाएको थियो।

जसमा भरत शाह चुक्न पुगे। ८४ औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी वाम्बाले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो। त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र पुलिसले लिगमा दोस्रो पटक अंक बाढ्न बाध्य भयो। बराबरीपछि पुलिसले सात खेलबाट ११ अंक बनाएको छ भने शेर्पाको पनि समान ११ अंक नै भएको छ।