मुद्रा र पूँजी बजार समस्या समाधानका लागि प्रतिबद्ध छौँः गर्भनर नेपाल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, पुस १०

नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिबी नेपालले मुद्रा र पूँजी बजारका समस्या बारे समाधानका लागी आएका सबै सुझाबहरुलाई कार्यान्वयन गर्ने बचनबद्धता व्यक्त गरेका छन्।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा उनले मुद्रा र पूँजी बजारका समस्या समाधानबारे उपाय दिन गठित कार्यदलको सुझावलाई कार्यान्वयन गर्ने बताएका हुन्।

कार्यदलले तयार गरेको प्रतिवेदनमा उल्लेख ५८ वटा सुझावमध्ये २७ वटा सुझाव राष्ट्र बैंकका लागि छन्।

केन्द्रीय बैंककै दवावमा बैंकहरुले ब्याज दर घटाउन भद्र सहमति गरेको भन्दै उनले वित्तीय संस्थालाई नैतिक दबाब दिएर ब्याजदर नियन्त्रणमा लिएको दाबी गरे।

अब शेयर बजारसँग सम्बन्धित निर्देशनहरु एक–दुई दिनमै जारी गर्ने जानकारी दिदै उनले अब शेयर बजारमा देखिएको गिरावटमा सुधार आउने आशा व्यक्त गरे।

बैंकहरुलाई शेयर ब्रोकरको काम गर्न दिने ब्यवस्था चाँडै गरिने भन्दै बैंकको प्राथमिक पूँजी र निक्षेपको निश्चित प्रतिशत रकम ऋणपत्र बजारमा लैजाने ब्यवस्था मिलाउन लागेको उनको भनाइ छ।

उनले नेपाली बैंकहरुले विदेशी संस्थाबाट डेढ अर्ब रुपैयाँ पैसा ल्याएको जानकारी दिँदै थप एक करोड ल्याउने प्रक्रियामा रहेकोसमेत बताए।

त्यस्तै उनले बित्तिय स्थायीत्व कायम राख्न नेपाल नै पहिलोपटक घरजग्गा मुल्याङ्कन सुचकांक जारी गर्न लागेको जानकारी दिए।

बैठकमा अर्थसचिव राजन खनालले पूँजी बजार र वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकिएको जानकारी दिए।

शेयर बजार सुधारका विषयमा सुझाव आएको बताउँदै उनले बजारमा आपूर्ति बढेको तर, माग नभएको हुँदा मूल्य घटेको दाबी गरे।