माथिल्लो तामाकोशीको साधारण शेयर सूचीकृत हुँदै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ, २४ पुस

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ ।

स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको अध्ययनपछि बढीमा सात दिनभित्र सो कम्पनीको शेयर दोस्रो बजारमा कारोवार हुनेछ ।

स्टकका अनुसार रु १० अर्ब ५९ करोड बराबरको शेयर एकै पटक धितोपत्र बजारमा आउन लागेको हो । कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई रु एक अर्ब पाँच करोड र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो ।

बिक्री भएका शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ । दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत शेयर बिक्री गरेको हो । कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो ।

कम्पनीमा ५१ संस्थापक र ४९ प्रतिशत साधारण शेयर रहेको छ । स्टकका प्रवक्ता पराजुलीले ‘धितोपत्र सूचीकरण नियमावली अनुसार’ कागजात अध्ययन गर्न एक महीना लाग्ने भए पनि सात दिनभित्र सूचीकरण गर्ने तयारी गरिएको छ ।

शुरुको कारोवार मूल्य के कति हुने भन्नेबारेमा भने स्टकले केही जानकारी दिएको छैन । शेयर बजारमा नेपाल टेलिकम पछिको ठूलो मात्राको शेयर सूचीकरण हुन लागेको हो । टेलिकमको कूल १५ करोड कित्ता शेयर सूचीकृत छ । रासस