सदनमा बहुमतले पेलेपछि सदन र सडक आन्दोलन गर्ने देउवाको चेतावनी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, माघ ११

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अधिनायकबाद शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गराएर बहुदलीय संसदीय व्यवस्थामाथि नै निर्मम प्रहार गरेको आरोप लगाएका छन्।

विभिन्न माग राख्दै सरकारले त्यी माग पूरा नगरेसम्म सदन चल्न नसक्ने भन्दै विपक्षी दलले सदन घेराउ गरी नारावाजी गरिरहेकैबेला सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस गर्न लगाई सदनबाट विधेयक पारित भएको घोषणा गरेलगत्तै संसद भवनमा सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन्।

एकलौटी ढङ्गबाट जबर्जस्ती विधेयक पास गराउने ओली नेतृत्वको सरकारको कार्यशैलीलाई संसदीय मूल्य, मान्यता र अभ्यास विपरित अधिनायकवादी कम्युनिष्ट शैलीको संज्ञा दिए।

सदनको नेतृत्वकर्ता सभामुख सबैको साझा अविभावक भएको बताउँदै तर, आजको बैठकमा सभामुख महराले पनि सत्तापक्षको योजना र भावना बमोजिम अबरोधकैबीच प्रक्रिया अघि बढाएर पदीय मर्यादाको दुरुपयोग गरेको आरोप देउवाले लगाए।

सभामुख भन्ने तटस्थ पद भएपनि पदको दुरुपयोग भएकोमा एकदमै दुःख लागेको उनले बताए।

विपक्षीका जायज मागलाई पनि बहुमतको आडमा पेलेर जाने सत्तापक्षको रवैयाप्रति आफूहरु अब सडक र सदन दुबै ठाउँबाट विरोध गर्दै उक्त कदमको विरुद्ध आन्दोलनमा उत्रने चेतावनी पनि देउवाले दिए।

कांग्रेस नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा सञ्चालित दुई अस्पताललाई राजनीतिक पूर्वाग्रह राख्दै सरकारले विघटनको प्रक्रियामा लगेकोप्रति देउवाले घोर आपत्ति जनाए।

‘नेपालको लोकतान्त्रिक आन्दोलनको शिखर पुरुष गिरिजाबाबु जसले माओवादीलाई हतियारको राजनीतिबाट शान्तिपूर्ण राजनीतिमा ल्याएर मुलुकमा शान्ति र गणतन्त्र स्थापना गरे र सुशील कोइरालाले संविधान निर्माण गरिदिए उनीहरुको नाममा रहेका अस्पताल विघटन गर्ने निर्णय आपत्तिजनक छ,’ देउवाले भने। उनले यी दुई नेता नभएको भए मुलुकमा राजनीतिक शान्ति र गणतन्त्र स्थापना मात्र होइन संविधान बनेपछि अहिलेका प्रधानमन्त्री ओली सत्तामा पुग्नैै नसक्ने अवस्था हुने बताए।

त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले वेल घेरेर नाराबाजी गरिरहे पनि प्रतिनिधि सभामा सभामुखले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको घोषणा शुक्रबार गरेपछि सांसद गगन थापाले आक्रोशित प्रतिक्रिया दिए।

उनले सभामुख कृष्णबहादुर महराले जालझेलपूर्ण व्यवहार गरेको आरोप लगाए।

सभामुखले सरकारको आदेशपालक जस्तो व्यवहार गरेको उनको भनाइ छ। सदनको नियम अनुसार सरकारी विधेयकमा शुक्रबार छलफल हुन दिन्नँ भन्नु पर्नेमा पारित गराएको भन्दै थापाले यो भन्दा ठूलो सभामुखको आसनबाट गरिने गलत र दुर्भाग्‍यपूर्ण व्यवहार अरु कुनै हुनै नसक्ने जिकिर गरे।

सरकारले विगतमा गरेको सहमति र संसदले यसअघि दिएको निर्देशन विपरित चिकित्सा शिक्षा विधेयक बलजफती पारित गराएको सरकारसँग उनले प्रश्न गर्दै भने, ‘आखिर सरकारको यो कदमबाट कसको जित भयो? जनताको कि केही सिमित मेडिकल माफियाका?’

यसैबीच प्रमुख विपक्षी दल कांग्रेसको आकस्मिक संसदीय दलको बैठकले आजको संसद बैठकमा सभामुख महराले संसदीय मर्यादा कायम गर्न निर्भिक र निश्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्ति जारी गर्दै सभामुख सत्ताको लाचार छायाँ बनेको आरोप लगाउँदै आफूहरु यस कदमको विरुद्ध उत्रने चेतावनी दिएका छन्।

त्यसैगरी चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रक्रियामा प्रश्न उठाउँदै कांग्रेसले यसबाट सरकारको निरंकुश चरित्र उदांगो भएकोे आरोप लगाएको छ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्द अनसनमा बसेकोे डाक्टर गोविन्द केसीको माग पूरा गरी उनको जीवन रक्षा गर्न पनि कांग्रेसले जोडदार माग गरेको छ।

यसका अतिरिक्त पार्टी नेताहरुको नाममा रहेका अस्पताल विघटन गर्ने सरकारी कदमकोे विरुद्ध पनि उत्रने घोेषणा कांग्रेसले गरेको छ।
विज्ञप्तिको पूर्ण पाठः

माघ ११, २०७५ 
प्रेस विज्ञप्ति
सरकारलाई दबाब दिन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा गरेको विरोध कायम रहेकै अवस्थामा संसदबाट जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको सन्दर्भमा नेपाली कांग्रेस संसदीय दलको नेता माननीय शेरबहादुर देउवाको अध्यक्षतामा बसको संसदीय दलको आकस्मिक बैठकले निम्न बमोजिम निर्णयहरु गरेको छ । 
१ संसदीय मर्यादा कायम राख्न सभामुखबाट सदा निष्पक्ष एवं विवेकपूर्ण भूमिकाको अपेक्षा रहन्छ । संसदीय अभ्यासमा सभामुख सत्ता सामु निरिह हुन सक्दैन । निष्पक्षता र निर्भिकताबाट मात्रै संसदीय मर्यादा कायम रहन्छ । स्थापित नजिर र परम्परा जोगिन्छ, लोकतान्त्रिक अभ्यास पुष्ट हुन्छ । तर संसदको आजको बैठकमा सम्माननीय सभामुखको भूमिका यस्तो अपेक्षा विपरित हुन पुग्यो । यो दुर्भाग्यपूर्ण हो । संसदलाई सत्ताको शक्तिको लाचार छायाँ बनाउन खोज्ने प्रयत्न नेपाली कांग्रेस निम्ति स्विकार्य छैन ।  संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य संसदको मर्यादा कायम राख्न हाम्रो संघर्षलाई अझ सशक्त बनाउने निर्णय गर्दछ । 
२ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश अनुरुप नै वर्तमान सरकार आफैले डा. गोविन्द के.सी.सँग गरेको सम्झौतालाई आफै संसदमा प्रस्तुत गरी अनुमोदन गराएको हो । तर यसको ठिक विपरित षड्यन्त्रमूलक ढंगबाट अर्को विधेयक संसदबाट बलजफ्ती पारित गराउने  कार्यप्रति गम्भीर आपत्ती छ । यस कार्यबाट सरकारको निरङ्कुश कार्यशैली एवं गैरजिम्मेवारी चरित्र जनता सामु उदाङ्गो भएको छ । यो विधेयक सच्चाउन नेपाली कांग्रेस संसद भित्र र बाहिर पनि क्रियाशिल रहने छ ।  
३ जनताको दैनिक जीवन सँग प्रत्यक्ष सरोकार राख्ने सुलभ तथा सरल स्वास्थ्य शिक्षा एवं सेवाको सुनिश्चितताका लागि सत्याग्रहको माध्यमबाट अनवरत संघर्ष गर्दै अजा १७ औं दिन सम्म अनसनरत डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।  
४ २०४० देखि २०७३ सम्म विभिन्न समयमा विकास समिति (गठन) आदेशबाट गठन भई आम नागरिकको स्वास्थ्य सेवामा क्रियाशिल एघार स्वास्थ्य संस्थालाई संघ (केन्द्र) अन्तर्गत राख्ने प्रस्ताव स्वास्थ्य मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेश हुँदा सरकारले गैरजिम्मेवार र पूर्वाग्रहपूर्ण तवरले जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, शुक्लागण्डकी –५, वेलचौतारा, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगञ्ज, बाँकेलाई मात्र हटाएर वाँकी नौ वटालाई संघ अन्तर्गत रहने गरी निर्णय गरियो । श्वासप्रश्वास जस्तो गम्भीर स्वास्थ्य समस्याको उपचारमा गण्डकी प्रदेशमा क्रियाशील जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र तथा प्रदेश नं. ५ र छिमेकका क्षेत्रमा क्यान्सर उपचार सेवा पु¥याउने सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सरकारले विघटनको संघारमा पु¥याएको छ । राजनीतिक पूर्वाग्रहबाट प्रेरित जनस्वास्थ्य विरोधी सरकारको यो कार्यप्रति नेपाली कांग्रेसले गर्दै आएको आफ्नो विरोधका कार्यक्रमलाई अझ सशक्त बनाउन निर्णय गर्दछ । 
बालकृष्ण खाण
प्रमुख सचेतक