थाइल्याण्डद्दारा नेपाललाई १२५ रनको लक्ष्य

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपालले अहिले घरेलु टोली थाइल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ ।

बैंककस्थित एसियन इन्स्टिच्युड अफ टेक्नोलोजीको मैदानमा थाइल्याण्डले नेपाललाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ ।

बैंककमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गत बिहिबार टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले ७ विकेटको क्षतिमा १२४ रन बनाएको हो।

थाइल्याण्डको लागि चानिदा सिथुरुवाङले ३५ रन जोडिन । यस्तै नारुमोल चाईमाईले ३२ रन जोड्दा वाङपाका लिङप्रार्सटले २८ रनमा अविजित रहिन् । नटया बोचाथाम १२ रनमा आउट भईन् ।

नेपालकी नेरी थापा र कृष्णा कुवरले २/२ विकेट लिईन्  । कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले १/१ विकेट लिईन्  ।

घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद सुरुवात गरिसकेको छ ।

तर, बलियो थाइल्याण्डविरुद्ध जित निकाल्न नेपालले कठिन चुनौती पन्छाउनु पर्ने हुन्छ । थाईल्याण्डले गत महिना वुमन्स टी- ट्वान्टी स्म्यास प्रतियोगितामा नेपाललाई ९ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो ।

यस्तै थाइल्याण्ड पनि दोस्रो जितको खोजीमा रहेको छ  । थाइल्याण्डले पहिलो खेलमा चीनलाई ६ विकेटले पराजित गरेको थियो ।

दुई खेलमा दुई जितका साथ युएई अंक तालिकाको पहिलो स्थानमा छ । समान एक जित निकालेको नेपाल र थाइल्याण्ड नेट रन रेटका आधारमा क्रमश दोश्रो र चौथो स्थानमा छन् ।

राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।