पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ, १० फागुन

बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत नेपालतर्फ पाइप लाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

करीब ७० किलोमिटर लामो उक्त परियोजनाको नेपालतर्फको ३६ मध्ये २७ किलोमिटर पाइप लाइन बिच्छ्याउने कार्य सम्पन्न भइसकेको छ । बाँकी नौ किलोमिटर वन क्षेत्रमा परेकाले रुख काट्ने काम केही दिनभित्र शुरु गरिने नेपाल आयल निगमले जनाएको छ ।

उक्त परियोजनाअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने छ हजार ५५३ रुख काट्न निगम र टिम्बर कर्पोरेशन अफ नेपालबीच केही दिनभित्रै सम्झौता हुने आज आयोजित पत्रकार सम्मेलनमा निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

आगामी वैशाखभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि रुख कटानमा ढिलाई हुँदा परियोजना सम्पन्न हुन केही समय लाग्ने निगमले जनाएको छ । पाइप लाइन परियोजना जतिसक्दो छिटो सम्पन्न गर्ने गरी काम अघि बढाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

सन् २०१५ को अगष्टमा उक्त परियोजना सम्पन्न गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ देखि २५ गतेसम्म गर्नुभएको औपचारिक भारत भ्रमणका क्रममा भारतीय समकक्षीको उपस्थ्तििमा नयाँ दिल्लीबाटै पाइपलाइन निर्माण कार्यको शुभारम्भ भएको घोषणा गरिएको थियो ।

नेपालतर्फ गत वैशाखदेखि पाइपलाइन बिच्छ्याउने कार्य शुरु गरिएको थियो । पाइपलाइन बिच्छ्याउने ठेक्का महाराष्ट्र सेम्लेस लिमिटेड कम्पनीले पाएको छ । पाइप लाइन पूर्ण रुपमा जमिनमुनीबाट बिच्छ्याएर ल्याउने कार्य भइरहेको छ । रक्सौलदेखि अमलेखगन्जसम्म प्रायःजसो स्थानमा २.५ मिटर गहिराइमा पाइप बिच्छ्याइएको निगमका इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिए ।

परियोजना सम्पन्न भएपछि नेपालतर्फ हुने पेट्रोलियम पदार्थको ढुवानी सुनिश्चित हुने निगमको दाबी छ । विभिन्न पक्षबाट हुने बन्द, हड्ताल र अवरोधका समयमा पनि व्यवस्थित रुपमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहजता आउनुका साथै पेट्रोलियम पदार्थको चुहावट र उच्च ढुवानी लागतसमेत कम हुने निगमले जनाएको छ । रासस