एनएमबी बैंकले तीन अर्बको ऋणपत्र बिक्री गर्ने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ, २१ फागुन

एनएमबी बैंकले रु तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता रु एक हजार रहेको छ । बैंकले यही फागुन ३० गतेदेखि आगामी चैत ४ गतेसम्म ऋणपत्र बिक्री गर्न लागेको आज जानकारी दिएको हो । बैंकले दश वर्षका लागि बिक्री गर्न लागेको ऋणपत्रमा लगानी गर्नेलाई वार्षिक दश प्रतिशत ब्याज दिने जनाएको छ ।

कूल ३० लाख कित्तामध्ये ४० प्रतिशतले हुन आउने कूल १२ लाख कित्ता पहिलो चरणमा सर्वसाधारणलाई बिक्री गर्नेछ । बाँकी रहेको ६० प्रतिशत ऋणपत्र भने व्यक्तिगत वा संस्थागत रुपमा बिक्री गरिने बैंकले आज प्रकाशन गरेको विवरणमा उल्लेख छ । ‘एनएमबी ऋणपत्र २०८५’ को निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि १२ लाख कित्तासम्म आवेदन गर्न सक्ने बैंकले जनाएको छ ।

ऋणपत्रमा सि आश्वा प्रणालीमार्फत् सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा आवेदन गर्न सकिनेछ । बैंकले ऋणपत्र निष्काशनका लागि गरेको विश्लेषणमा न्यून जोखिम जनाउने सूचक प्राप्त गरेको छ । बैंकिङ क्षेत्रमा देखिएको तरलताको अभावलाई समाधान गर्न बैंकहरुले ऋणपत्रको निष्काशनलाई पछिल्लो दिनमा जोड दिँदै आएका छन् । एनएमबी बैंकले यसअघि ५० करोडको ऋणपत्र बिक्री गरिसकेको छ । रासस