सरकार संविधान र राष्ट्रिय स्वाभिमानको विपरित गयोः भीम रावल

तत्काल सहमतिका बुँदा सच्याएर सिके राउतले विगतको विष वमनप्रति माफी माग्नु पर्छ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, फागुन २६

सरकार संविधान र राष्ट्रिय स्वाभिमानको विपरित गयोः भीम रावल

तत्काल सहमतिका बुँदा सच्याएर सिके राउतले विगतको विष वमनप्रति माफी माग्नु पर्छ

Posted by Himal Dainik on Sunday, March 10, 2019

सरकारका र सिके राउतबीच भएको ११ बुँदे सहमति नेपालको संविधान र नेपाली जनताको भावना विपरित रहेको दाबी गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले सच्याउन माग गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता रावलले आफ्नै दलको नेतृत्वमा रहेको सरकारले पृथकतावादी मुद्दा बोकेर हिँडेका सिके राउत र उनको संगठनसँग सम्झौता गर्ने क्रममा आपत्तिजनक पदावली सहमति पत्रमा प्रयोग गरेर नेपाल र नेपाली जनताको स्वाभिमानमाथि आँच पुर्याएको दाबी पनि गरे।

उनले स्वतन्त्र मधेस र स्वायत्त स्वशासनको कुरा संविधान र देशको कुनै पनि मान्यताभित्र रहन नसक्ने बताउँदै तत्काल अर्को वक्तव्यमार्फत त्यसमा भएका त्रुटि सच्याएर जनतालाई नेपालको स्वाधिनता, स्वतन्त्रता र अखण्डतामा आश्वस्त पार्न पनि माग गरे।

प्रस्तुत छ, नेकपा नेता भीमबहादर रावलले प्रतिनिधि सभाको बैठकमा व्यक्त गरेका विचारको अंशः

सम्माननीय सभामुख महोदय,

हामी देशलाई राजनीतिक स्थायीत्व, शान्तिको मार्ग हुँदै संमृद्धीको दिशातर्फ अगाडि बढाउन अग्रसर छौँ। नेपाली जनताले त्यो उद्देश्यका लागि शशक्त बहुमतका साथ सरकारलार्ई आफ्नो समर्थन जनाएका छन्।

हामीले विगतमा संविधान निर्माण गर्दा यो सिंगो राष्टको स्वाधिनता, स्वतन्त्रता र नेपाली जनताका हक अधिकारलाई सुनिश्चित हुनेगरी नेपालको संविधान निर्माण गरेका छौँ।

यो नेपालको संविधान अन्तरगत सबै जाति, समुदाय, क्षेत्र, वर्ग, लिंगका जनताले आफ्नो व्यक्तित्वको विकास र राजनीतिक अधिकारको प्रयोग गर्दै यो देशको एउटा स्वाभिमानी नागरिकको रुपमा अगाडि बढ्ने प्रशस्त अवसर सबैलाई प्रदान गरेको छ।

संसारमा कुनै पनि व्यवस्था, कुनै पनि शासन त्यो सतप्रतिशत पूर्ण हुन्छ त्यसमा कुनै सुधारको गञ्जायस हुँदैन भन्ने होइन। त्यस्ता गुञ्जायस हामीकहाँ पनि हुन सक्दछन्।

भर्खरै नेपाल सरकारको तर्फबाट सिके राउत र उहाँको पार्टीसँग एउटा सहमति भएको हामीले थाहा पायौँ। त्यसरी विभिन्न समुदायलार्ई वार्तामा ल्याउनु र उनीहरुलाई देशको मूलप्रवाहमा अगाडि बढाउनु र त्यसका लागि प्रयास गर्नु राम्रो र स्वागतयोग्य कुरा हो। तर, मैले यहाँ भन्नु पर्छ नेपाली जनताबाट निर्वाचित यो सार्वभौम प्रतिनिधि सभाको बैठकमा उभिएर एक देशभक्त नागरिकको दृष्टिकोणबाट मैले भन्नु पर्छ त्यो सहमतिमा प्रयोग गरिएका शब्दहरु त्यी नेपालको संविधान अनुकूल छैनन्। र नेपालको स्वाधिनता र स्वतन्त्रताको प्रतिकूल रहेका छन्।
म नेपालको संविधानको धारा ५ प्रति सम्बद्ध सबैको ध्यान आकर्षित गराउन चाहन्छु। धारा ५ को उपधारा २ मा उल्लेख छः राष्ट्रहित प्रतिकूलको आचरण र कार्र्य संघीय कानुन वमोजिम दण्डनीय हुनेछ।

हामी सबैलाई थाहा छ, सिके राउतजीले नेपालको राष्ट्रिय एकता र अखण्डताको विरुद्धमा उहाँले सकेसम्म विष वमन गर्नु भएको छ। तर, मैले दुःखका साथ भन्नु पर्छ उहाँले न राष्ट्रिय सभागृहको बैठकमा न उहाँले आफ्ना सहमतिमा कतैपनि आफूले विगतमा नेपाल राष्ट्रको विरुद्धमा ओकलेका त्यी विषहरु फिर्ता लिएँ भनि कुनै शब्दहरु प्रयोग गर्नु भएको छैन।

म त्यसकारण नेपाल सरकारलाई के सुझाव दिन चाहन्छु भने, यसमा भएका त्रुटिहरु सच्याइयोस् र एउटा वक्तव्य जारी गरेर नेपाल राष्ट्रको स्वाधिनता, अखण्डताको विरुद्धमा उहाँले आजसम्म भनेका कुराहरु फिर्ता गरिएका छन् र चन्द्रकान्त राउतले अब उप्रान्त नेपालको संविधानलाई आत्मसाथ गरेर नेपालको स्वाधिनता, अखण्डता अनुरुप शान्तिपूर्ण प्रतिस्पर्धामा जान म तयार भएको छु भनेर पूरक वक्तव्य दिनु पर्छ।

अन्यथा भर्खरै भएको सहमति, त्यतिमात्रै होइन, नेपाल देशभित्र वसोवास गर्न दिइनेछ भन्ने जस्तो अत्यन्त आपत्तिजनक शब्द परेको छ।
सम्माननीय सभामुख महोदय, सम्पूर्ण कुराहरु म यहाँ व्याख्या गर्न गइरहेको छैन। मैले संक्षेपमा मात्रै यो भने। यसको साथसाथै संविधानको धारा ५६ को उपधारा ५ तर्फ पनि सम्बद्ध सबैको ध्यान आकर्षित गराउन चाहन्छु। त्यसमा भनिएको छः संघीय कानुन बमोेजिम सामाजिक, सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिने छ।

हामीले स्वयत्तताको कुरा गरेका छौँ तर, सम्माननीय सभामुख महोदय, हाम्रो संविधानले कसैका लागि पनि स्वशासनको परिकल्पना गर्न सक्दैन। एकतर्फ एउटा कुनै संगठनको नाम स्वतन्त्र यस्तो संगठन भनेर त्यहाँ प्रवेश गराउने अर्कोतर्फ त्यहि सहमतिको तल अब त्यहाँ स्वशासन दिने भन्ने कुरालाई एकै ठाउँमा राखेर हेर्दा के अर्थ निस्कन्छ?

त्यसकारण हामीले चाहे विभिन्न राजनीतिक दलहरुलाई सहमतिमा ल्याउँछौँ जो असन्तुष्ट छन् वा हामी द्धन्द्धको समाधान गरौँ केका लागि त्यो? त्यो केका लागि हो भने यो देशकोे सर्वोेपरी हितका लागि हो। यसको स्वाधिनतालाई अझ सुदृढ बनाउनका लागि हो। नेपाली जनताको स्वाभिमानलाई अझ उचो बनाउनका लागि हो।

तर, यदि त्यस्ता सहमतिमा उल्लेख गरिएका शब्दहरु नेपालको संविधानसँग मेल खाँदैनन्, नेपालको स्वाधिनतासँग मेल खाँदैनन्। म जुन पार्टीसँग सम्बद्ध छु त्यो पार्टीले आजभन्दा झण्डै सात दशक अगाडि उठाएको नेपालको राष्ट्रिय स्वाभिमानको झण्डासँग त्यसले मेल खाँदैन भने त्यस्ता त्रुटिहरुलाई सच्याउनै पर्छ।

भर्खरै केहि समय अगाडि भएको जुन सहमति छ त्यसका त्रुटिहरु सच्याइनु पर्छ।

सम्माननीय सभामुख महोदय, यस प्रसंगमा म नेपालको नागरिकतासँग सम्बन्धित कुराहरुलाई थोरै राख्न चाहन्छु। यो प्रसंग मैले किन कोट्याएको भने, चीन र भारत जस्ता विशाल देशहरुको बीचमा रहेको नेपालले आफ्नो स्वाधिनता र स्वतन्त्रताको कुरालाई ध्यानमा राखेर नागरिकताको सम्बन्धमा पनि आफ्ना देशका नागरिकहरुको अधिकार कतै कुण्ठित नहोस्, सबैले नागरिकता निर्वाद रुपमा प्राप्त गरुन तर, हाम्रो जस्तो देशमा विभिन्न बहानामा फेरि विदेशीहरुलाई भित्र्याएर कतै हाम्रा तराईका दाजुभाइहरुदेखि पहाडसम्मका सम्पूर्ण नेपाली अल्पमतमा नपरुन भनि त्यतातर्फ ध्यान दिनु पर्छ।

मैले यो कुरा यहाँ एकै ठाउँमा किन राखेको हो भने, जनमत संग्रह जस्तो कुनै पनि देशले मेरो यो भूभाग राख्ने कि नराख्ने भनि जनमत संग्रह जस्तो कुरा गर्ने अत्यन्त आपत्तिजनक हुन्छ। सिके राउतजी र उहाँका समर्थकहरुले यो जनअभिमत भनेको जनमत संग्रह नै हो भनेर बारम्बार भन्नु भएको छ।

त्यसकारण यी सम्पूर्ण कुराहरुलाई नेपालको संविधान अनुसार, नेपालको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको भावना अनुसार सरकारको तर्फबाट सच्याइयोस्। अर्को वक्तव्य जारी होस् र नेपाली जनतामा रहको भ्रमलाई हटाइयोस् भनि म जोडदार माग गर्न चाहन्छु। धन्यवाद!