हतियार राख्न पाउने कानुनी व्यवस्था संशोधनको तयारीमा न्युजिल्याण्ड

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत २

न्युजिल्याण्डको क्राइस्टचर्चस्थित मस्जिदमा शुक्रबार एक हतियारधारी युवकले अन्धाधुन्ध गोली चलाएर ४९ जनाको ज्यान लिएपछि प्रधानमन्त्री ज्यासिन्दा आर्डेनले सर्वसाधारण व्यक्तिले हतियार राख्न पाउने देशको कानुनमा परिवर्तन गर्ने बताएकी छिन्।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, प्रधानमन्त्री आर्डेनले शुक्रबारको मस्जिद आक्रमणमा संलग्न मुख्य अपराधीले पाँच वटा बन्दक प्रयोग गरेको र त्यी सबैको उसँग लाइसेन्स रहेको जानकारी आफूले पाएको बताइन्।

आक्रमणकारीले त्यी बन्दुकहरुको लाइसेन्स सन २०१७ मा प्राप्त गरेको बताउँदै प्रधानमन्त्री आर्डेनले मस्जिद आक्रमणको घटनापछि आफूले हतियार राख्न पाउने देशको कानुनमा परिवर्तन गर्ने बताएकी हुन्। यसअघि पनि सन २००५, ०१२ र ०१७ मा पनि न्युजिल्याण्डको हतियार राख्न पाउने व्यवस्था सम्बन्धि कानुनमा संशोधनको प्रयास भएको समाचारमा उल्लेख छ।

न्युजिल्याण्डको मस्जिदमा आक्रमण गर्ने मुख्य अभियुक्त ब्रेंटन टैरेन्टलार्ई त्यहाँको प्रहरीले शनिबार अदालतमा पेश गरेको छ। मस्जिदमा शुक्रबार नमाज पढेर फकिन लागेका मुस्लिम धर्र्मावलम्बीहरुमाथि अन्धाधुन्ध गोली चलाएर ४९ जनाको हत्या र अन्य कैंयन व्यक्तिलाई घाइते बनाएको आरोपमा पक्राउ परेका टैरेन्टलाई हत्याको आरोपमा अनुसन्धानका लागि तीन हप्तासम्म अर्थात अप्रिल ५ तारिखसम्म हिरासत राख्न अदालतले अनुमति दिएको छ।

न्युजिल्याण्डको प्रहरीले टैरेन्टलाई हथकडी लगाएर अदालतमा पुर्याउँदा उक्त व्यक्तिको अनुहारमा कुनै परिवतन नदेखिएको र बरु उल्टै त्यहाँ उपस्थित सञ्चारकर्मीतर्फ बनावटी हाँसोमा मुस्कुराउँदै सबै कुरा ठिक भएको इशारा गरेको समाचार एजेन्सीहरुले बताएका छन्।

अष्ट्रेलियन मुलका टैरेन्ट शारिरीक व्यायमशालाको प्रशिक्षक भएको बताइएको छ। सुरक्षाकर्मीले अदालतमा आफूँलाई प्रस्तुत गर्दा आफू फासिस्ट भएको बताउँदै अदालतसमक्ष जमानतको लागि समेत कुनै आग्रह नगरेको बताइएको छ।

प्रहरीले उक्त घटनामा संलग्न भएको आशंकामा अन्य दुई जनालाई पक्राउ गरी उनीहरुको संलग्नताबारे छानविन गरिरहेको छ।

यसैबीच शुक्रबारको आक्रमणको योजना दुई वर्ष पहिलेदेखि बनाइएको समाचारमा उल्लेख छ। समाचार सूत्रका अनुसार, शुक्रबारको आक्रमण गर्नु २४ घण्टा अगाडि बिहीबार आक्रमणकारीले उक्त आक्रमणका धम्की दिएको थियो।

आक्रमणकारीले बिहीबार नै आफ्नो फेसबुकको स्टाट्समा आफूले आक्रमणकारीमाथि आक्रमण गर्ने र त्यसको लाइभ भिडियो फेसबुकमार्फत देखाउने जानकारी दिएको थियो। आक्रमणकारी नर्वेको आतंककारी समूह एण्डर्स बेहरिङ ब्रेविकको समर्थक रहेको बताइएको छ। ब्रेविक समूहले सन २०११ मा नेर्वेमा गरेको कारबम हमलामा ७२ जनाको ज्यान गएको थियो।