मस्जिद आक्रमणका प्रत्यक्षदर्शी फरीद अहमद भन्छन्ः मरेको नाटक गरेर बाँच्न सफल भएँ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत २

न्युजिल्याण्डको क्राइस्टचर्चस्थित मस्जिदमा शुक्रबार एक हतियारधारी युवकले अन्धाधुन्ध गोली चलाएर ४९ जनाको ज्यान लिएको घटनामा परेर पनि बाँचेका एक प्रत्यक्षदर्शीले आफू नाटक गरेर बाँच सफल भएको बताएका छन्।

मस्जिदमा शुक्रबार नमाज पढ्न पुगेका फरीद अहमद गोेली लागेर मरेको नाटक गरी बाँच्न सफल भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्।

उक्त दर्र्दनाक घटनाका प्रत्यक्षदर्शी समेत रहेका अहमतका अनुसार नमाज पढ्नु ठिक अगाडि एक हतियारधारी व्यक्ति मस्जिदमा प्रवेश गर्दै ढोका बन्द गरेको थियो। त्यसपछि उसले आफूँसँग रहेको अत्याधुनिक बन्दुकबाट एक्कासी गोली चलाउन सुरु गरेको थियो।

‘त्यो देखेपछि त्यहाँका मानिसहरु जथाभावी भागदौड गर्न सुरु गरे तर, म भाग्न सकिन। मसँगैका अन्य व्यक्तिलाई गोली लागेपछि रगतको भल बग्न थाल्यो। त्यो रगतको छिटा मेरो कपडामा पनि लाग्यो। म केहि उपाय नदेखेपछि बेन्चको मुनि लम्पसार परेर पल्टिएँ। मलार्ई लाग्यो अब म पनि मारिन्छु। आक्रमणकारीले प्रत्येकलाई एक एक गर्दै गोली हानेर मार्न थाल्यो। त्यहि क्रममा उसले मेरो शरिरभरी रगत लतपतिएको देखेपछि मर्यो होला भन्ने ठानेर ममाथि गोली चलाएन,’ अहमदले भने।

आक्रमणकारीले त्यो आक्रमणका क्रममा सात पटक बन्दुकको मेगजीन बदलेको र त्यसपछि अर्को कोठामा गएपछि आफू उठेर हेर्दा त्यहाँ वरपर दुई दर्जन लास असरल्ल परेको अवस्थामा आफूमात्रै जिवित रहेको उनले बताए।

यसैगरी न्युजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशी क्रिकेट टिमका खेलाडीहरु पनि उक्त आक्रमण हुनु केहि अगाडिमात्रै मस्जिदबाट बाहिरिएको कारण उनीहरु बाँच्न सफल भएको समाचारमा उल्लेख छ।