एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको भूमिकामा दीपिका

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
मुम्बई,मार्च २५

दीपिका पदुकोनले साेमबार विहानै भारतीय सञ्चार जगतलाई नै चकित बनाइदिएकी छिन्। उनले आफ्नो सोसल साइटमा एउटा तस्बिर सार्वजनिक गरेपछि सबैको ध्यान उनको त्यो तस्वीरमा केन्द्रित भएको छ।

त्यो तस्वीर उनको नया फिल्म “छपक”को पहिलो लुक्स रहेको छ। त्यस फिल्ममा उनले एसिड आक्रमणबाट बच्न सफल लक्ष्मी अग्रवालको भूमिकामा देखिने फिल्मका निर्देशक मेघना गुल्जारले बताएकी छिन्।

यो फिल्म सन् २०२० जनवरी १० गते रिलिज हुने निर्देशक गुल्जारले बताइन्। अग्रवालकाे भूमिका देखिएकी दीपिकाले इन्स्टग्राममा पहिलो तस्बिर सार्वजनिक गर्दै भनेकी छिन् “A character that will stay with me forever #malti”।

 

सन् २००५ मा लक्ष्मीलाई एक ३२ बर्षीय युवक नईम खानले बिहेको प्रस्ताव पटक-पटक राख्दा अस्विकार गरेपछि उनीलाई बीच बाटोमा एसिड प्रहार गरेका थिए। लक्ष्मी त्यस समय केवल १५ वर्षकी थिइन्।

एसिड प्रहार पश्चात उनी पिडामा छटपटाई रहदा एक ट्याक्सी चालकले उनीलाई नजिकको अस्पतालमा पुराएका थिए। डेली मेलसंगको एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘मलाई त्यस समय मेरो शरिरमा पुरै आगो बलेको महसुस भएको थियो।’ उनी तीन महिनासम्म अस्पतालकाे बेडमा मुढाेसरी लडेर जीवन र मृत्युकाे पैंठाजाेरी खेल्दै बाँच्न सफल भइन।

तर, एसिडले जलाएर कुरूप बनेकाे आफ्नाे अनुहार देख्दा एसिडकाे जलन भन्दा गहिराे पीडा मुटुमा लिएर उनी जीउन बाध्य भइन। त्यसका बाबजूद पनि उनले जीन्दगीसँग कहिल्यै हार मानिनन्।

उनले भनेकी छिन्, ‘म बसेको वार्डमा कुनै पनि ऐना राखिएको थिएन। हरेक दिन नर्सले एक कटाैरा पानी लिएर आऊथिइन्। त्यस कटोरामा मेरो अनुहार हेर्न खोज्थे तर, मैले सिर्फ मेरो अनुहारमा लगाइएको सेताे पट्टि मात्र देख्थे।’

अस्पतालबाट घर फर्किएपछि आफ्नाे अनुहार देखेर आफैँ त्रसित हुने अवस्थामा पनि उनले हार मानिनन्। बरू उल्टै आफूले जस्ताे अरू बालिकाहरूले शिकार हुन नपराेस् भन्ने भावनाले एउटा अभियानमा लागिन्र।

अस्पतालबाट डिस्चार्ज भए पश्चात सन् २००६ मा उनले एसिड बेचबिखनमा प्रतिबन्ध लगाउन सुप्रिम कोर्टमा मुद्दा दायर गरिन् र सन् २०१३ मा कोर्टले उनकै पक्षमा फैसला सुनायो।

उनको त्यो साहस, हिम्मत, हौसलाको कदर गर्दै उनलाई त्यस समयका फस्ट लेडी मिशेल ओबामाले अन्तर्राष्ट्रिय महिला साहस पुरस्कारले सम्मानित गरेकी थिइन्।