समाचार सङ्कलनका क्रममा पक्राउ परेका पत्रकार अधिकारी रिहा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
कास्की, १८ चैत

समाचार सङ्कलनको क्रममा आज बिहान प्रहरीले नियन्त्रणमा लिएका पत्रकार राजेन्द्र अधिकारी चार घण्टापछि रिहा भएका छन् । नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभाषद् अधिकारीलाई आज बिहान ६ः३० बजे प्रहरीले पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटबाट पक्राउ गरेको थियो ।

अधिकारीलाई महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतका सञ्चारकर्मीको रोहबरमा बिहान १०ः३० बजे प्रहरीले रिहा गरेको हो । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहले आफ्ना नेतालाई सरकारले पक्राउ गरेको विरोधमा गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुगेका अधिकारीलाई प्रदर्शनस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले अधिकारीसँग केही कुरा बुझ्नु परेकाले कार्यालयमा ल्याइएको र आवश्यक सोधपुछ पश्चात महासङ्घका अध्यक्ष श्रेष्ठको जिम्मामा छाडिएको जनाएको छ । रासस