सँधै लैबरी पारामा मदमस्त रहने लोक गायक कुमार बस्नेतलाई भेट्दा…

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत २६

मंगलबार अपरान्ह अनामनगरमा नेपालका पुराना र चर्चित लोक गायक कुमार बस्नेतसँग जम्काभेट भयो।

उमेरले तीन बीस १७ काटेपनि मनले अझै पनि १६/१७ वर्षकै कुमार केटाको कुर्कुरे बैंशमा जस्तै गरी कुमार बस्नतले पाइन्टको खल्तीबाट एउटा काइयो निकाले। त्यसपछि कालो रंग लगाउँदा पनि फेदमा सेतै देखिने कपाल कोर्दै अनुहार र ओठ मुसार्दै मोटरसाइकलको ऐना हेरे।

त्यसपछि यो पंक्तिकारले उनलाई सोध्योः कुमार दाई हजुर यो उमेरमा पनि खल्तीमा काइयो बोक्नु हुन्छ?

सधैँ रसिक र लैबरी पारामा देखिने कुमार बस्नेतले आफ्नो स्वभाव अनुसारकै जवाफ दिन किन पछि पर्दथे र?

उनले भने, ‘एकान्तमा बसेको बेला सुसेल्न जानेन भने, अरुले अमिलो खाएको देख्दा मुख रसाएन भने, राम्री तरुनी देख्दा पुलुक्क हेर्र्न सकेन भने, त्यस्तो मानिस चाँडै मर्छन् रे, भने म किन चाँडै मर्ने?’

आमा भन्दा छोरी तरुनी, लिपिस्टिक पाउडरले, लान्छ क्यार घुमाउन झिल्के डाइभरले, भन्ने ठट्यौलो पाराको लोक गीत गाएर आम नेपालीको जनजिब्रोमा झुण्डिन सफल गायक बस्नेत आफ्नो गीतमा जस्तै सँधै ठट्यौलो पारामा देखिन्छन्। कहिल्यै चिन्ता र तनावमा नदेखिने बस्नेतले थप्दै भनेः रमाइलो ठट्टा नगरे त चाँडै मरिन्छ रे। त्यहि रमाइलो गरेर हिँड्ने भएको कारण त म बाँचेको छु।

एकपटक पूर्वराष्ट्रपति रामवरण यादवसँग दोलखाको चरिकोट जाँदा एक जनाले भनिनः दुई चार अक्षर पढेकै हो, स्कूल पनि गएकै हो। छोरछोरी पनि पाएकै हो। छोरी त लग्यो ज्वाइले, छोरा लग्यो बुहारीले।

त्यो गाउँले भाकामा व्यक्त पुरानो लोक संस्कृतिको भाकाले उनको मन र मस्तिष्कमा गहिरो छाप छोडेको बताउँछन र भन्छन्ः जीवन यस्तै हो, हँसी, मजाक र ठट्टा। त्यसैले जहाँ गयो, जोसँग भेट्यो रमाइलो ठट्टा गर्न म पछि पर्दिन। किन भने, ठट्टा गर्यो भने आयु बढ्छ रे।