धितोपत्र बोर्डको घोषणाः न्यूनतम रु १ हजारसम्मको शेयर आवेदन दिन पाइन्छ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

नेपाल सरकारको धितोपत्र तथा वस्तु विनिमय बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सार्वजनिक शेयर निष्काशनमा न्यूनतम १० कित्तासम्म पनि शेयर आवेदन दिन पाउने व्यवस्था गरेको छ।

सार्वजनिक शेयर निष्काशनमा हालसम्म कम्तिमा ५० कित्ता अर्थात ५ हजार रुपैयाँको आवेदन दिन सक्ने व्यवस्थामा परिवर्तन गर्दै विद्यार्थी तथा स–साना पूँजी भएका वर्गको पूँजीबजारमा पहुँच बढाउने र यसलाई समावेशी बनाई यसवर्षको एक नेपाली एक डिम्याट खाता अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले बोर्डले यस्तो व्यवस्था गरेको हो।

बोर्डद्धारा जारी विज्ञप्ति अनुसार, यस व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निष्काशन तथा विक्री प्रबन्धक मर्चेन्ट बैंकरहरुलाई परिपत्र समेत गरिएको छ।

यस्तो समावेशी व्यवस्थाले पूँजीबजारमा विद्यार्थीसहित स–साना पूँजी भएको वर्ग समेतको सहभागिता बढ्ने र यो बर्षको एक नेपाली एक डिम्याट खाता अभियानमा समेत व्यापक सहभागिता बढी पूँजीबजारको विकास तथा विस्तारमा थप टेवा पुग्ने बोर्डको अपेक्षा रहेको छ।

सबै वर्गका लगानीकर्ताहरुको सहभागिता बढाउन उपलब्ध भएसम्म सबै आवेदकहरुले १० कित्ता शेयर पाउने समावेशी वितरण प्रणाली र आश्वासन व्यवस्था २०७३ साल देखि लागू भएपश्चात काठमाडौं बाहिर सहित देशैभर साना तथा आम लगानीकर्ताको सहभागिता बढ्दै गएको बोर्र्डले जनाएको छ। तथापि यसलाई अझ व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै धितोपत्र बोर्डले नयाँ योजना सार्वजनिक गरेको हो।