नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले सामूहिक लगानी कोष निष्काशन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ, बैशाख ४

नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आगामी बिहिबारदेखि सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ को इकाई सार्वजनिक निष्काशन गर्ने भएको छ ।

लिमिटडले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे बिहिबारबाट प्रतिइकाई दश रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउने जनाएको हो ।

फण्डले निष्काशन गर्ने कुल १२ करोड इकाईमध्ये बिज पूँजी वापत न्यूनतम १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई छुट्टाएर बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणबाट निष्काशन हुनेछ ।

दश वर्ष अवधिको यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन लिन सकिने बताइएको छ । न्यूनतम १०० इकाईदेखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । उक्त इकाई छिटोमा बैशाख ९ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने जेठ ३ गतेसम्म खुला रहने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले जानकारी दिए। लगानीकर्ताहरुले लिमिटेडको आर्थिक अवस्थाका बारेमा बुझेर नबिल ब्यालेन्स फण्डमा लगानी गर्ने उनले बताए।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने उक्त नबिल ब्यालेन्स फण्ड–२ योजनाको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डले चैत १० गते अनुमति दिएको थियो ।