श्रीलंकामा मर्नेको संख्या ३ सय नजिक पुग्यो, २४ शंकास्पद व्यक्ति पक्राउ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

श्रीलंकमा आइतबार भएको श्रृंखलाबद्ध बम विष्फोटनमा परी मृत्यु हुनेको संख्या झण्डै तीन सयको हाराहारीमा पुगेको छ।

इस्टरको उपलक्ष्यमा आइतबार बिहान इसाई धर्माबलम्बीहरु प्रार्थनाका लागि चर्चमा भेला भइरहेको बेला स्थानीय समय अनुसार बिहान ८ बजेबाट सुरु भएको श्रृंखलाबद्ध विष्फोटन अपरान्ह २ बजेसम्म चल्दा कम्तिमा २ सय ९० जनाको ज्यान जानुका साथै करिब ५ सयको हाराहारीमा घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्।

यसैबीच श्रीलंकन सुरक्षाकर्मीले एउटा घरेलु पाइप बम फेलापारी त्यसलाई निश्कृय पारेका छन् भने उक्त बम हमलामा संलग्न भएको आशंकामा दुई दर्जन व्यक्तिहरुलाई पक्राउ गरेको छ।

स्थानीय प्रहरीलाई उद्रीत गर्दै समाचार एजेन्सीहरुले बताए अनुसार, आइतबार साँझ स्थानीय सडकको चोकमा पाइपमा विष्फोटक पदार्थ भरेर पड्काउने उद्देश्यले बनाएको बम सफलता पूर्वक निश्कृय पारिएको छ।

प्रहरी प्रशासनले पक्राउ पर्नेकोबारेमा मात्र होइन, चर्च र होटलमा भएको आतंककारी हमलामा परी मर्ने र घाइते हुनेहरुको विषयमा पनि विस्तृत जानकारी दिन अस्वीकार गर्दैआएको छ।

श्रीलंकाको कोलम्बो र आसपासका तीन चर्च र चारवटा तारे होटलमा ८ वटा बम विष्फोटन श्रृंखलाबद्ध रुपमा भएपछि त्यहाँको प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि त्यहाँका स्कूल, कलकारखाना र सरकारी कार्यालय प्रभावित हुन पुगेको छ।

दशकौंसम्म गृहयुद्धको चपेटामा परेको श्रीलंका करिब १० वर्ष पहिले तामिलहरुको पृथकतावादी समूहलाई निमिट्यान्न पार्न सफल भएयताको यो नै सबैभन्दा ठूलो आक्रमण हो जसमा यति ठूलो संख्यामा हताहत र घाइते भएका छन्।

श्रीलंकाका सरकारी मन्त्रीहरुले अतिवादीहरुको मनोवल बढ्नेगरी घटनाको विषयमा हल्ला गर्ने र उनीहरुलाई शहिदको दर्जा दिने जस्तोगरी समाचार नबनाउँन आग्रह गरिरहेका छन्।

आइतबार भएको घटनामा करिब ३२ जना विदेशी नागरिकको ज्यान गएको समाचार एजेन्सीहरुले बताएका छन्।