भरतमोहनको सम्झनामा वृद्धवृद्धालाई निःशुल्क उपचार सेवा प्रदान

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २२

नेपाल कम्युनिष्ट पार्टीका पूर्व नेता स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।

ललितपुरको सानेपास्थित स्टार एकेडेमीमा आइतबार आयोजित कार्यक्रममा करिब ५ सय वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण गरियो।
कार्यक्रममा वृद्धवृद्धालाई सम्मानसमेत गरिएको थियो।

पूर्वउपप्रधान तथा अर्थमन्त्री समेत भएर देश र जनताको पक्षमा काम गरेका नेता अधिकारीको सम्झनामा उनीकी पुत्री लिमाले त्यस क्रममा शनिबार परेको आमाको मुख हेर्ने दिनको अवसर पारेर वृद्धाहरुलाई उपहारसमेत प्रदान गरेको बताइन्।

स्वर्गीय भरतमोहनको जन्मदिनको अवसर पारेर मनमोहन स्मृति प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको हो।

महोत्तरीको भ्रमरपुरामा १९९३ साल वैशाख २२ गते जन्मिएका अधिकारीको गत १८ फागुनमा ८२ वर्षको उमेरमा निधन भएको थियो।

लामो समय नेपालको कम्युनिष्ट आन्दोलन र लाेकतान्त्रिक आन्दाेलनमा सक्रिय रहेका अधिकारीले अर्थमन्त्रीत्वकालमा आफ्नो गाउँ आफैं बनाऔं र वृद्धावृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणको सुरुआतजस्ता कार्यक्रमका कारण आमनेपालीमाझ लोकप्रिय थिए।

कार्यक्रममा ईश्वरीलाल फाउण्डेशन र स्टार हस्पिटलको समेत सहकार्य थियो। कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी थिए।