भट्टराई र यादवले भनेः सानो पसल चालउन एकताकाे सटर खाेलेकाे होइन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २३

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ।

उपेन्द्र यादव नेतृत्वको फोरम र डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण गरी नयाँ ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको हो।

अध्यक्ष यादव र भट्टराईले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी एकीकरण गर्ने समझदारीपत्र पढेर नेता कार्यकर्तालाई सुनाएका थिए।

अध्यक्षमण्डलमा दुई जना रहने पार्टीको संरचनाबमोजिम समाजवादी पार्टीका अध्यक्षसहित २६ जनाको पदाधिकारी रहने जनाइएको छ।

पार्टी केन्द्रीय समिति अध्यक्षमा यादव र संघीय परिषद्का अध्यक्ष भट्टराईले जिम्मेवारी पाउने सहमति भएको छ।

पार्टी एकीकरण घोषणापछि नवघोषित ‘समाजवादी पार्टी नेपाल’का अध्यक्ष भट्टराईले समाजवादी पार्टीको गठन सानातिना सटर खोलेर व्यापार गर्न खोलिएको नभएको उल्लेख गर्दै अर्को छलाङका लागि पार्टी गठन भएको दाबी गरे।

उनले इतिहासमा एउटा अग्रगामी र अर्को पश्चगामी र यथास्थितिवादी भएको र नयाँ पार्टी क्रान्तिकारी भएको दाबी पनि गरे।

त्यस्तै पार्टीका अर्का अध्यक्ष यादवले सानो सानो ठाउँमा सटर राखेर ग्राहक आउँछन् कि भनेर कुरेर बस्ने दिन गएको बताए।

उनले कांग्रेस अबका दिनमा अघि बढ्न नसक्ने उल्लेख गर्दै यादवले कम्युनिस्ट कमाउनिस्ट भएको आरोप पनि लगाए।

समाजवादी पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातिय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद तथा शोषणको अन्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको जनाएको छ।