राष्ट्रपतिको सम्बोधनप्रति नेकपा नेता दाहालले भनेः राजतन्त्र र गणतन्त्रबीच गुणात्मक अन्तर छ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २४

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्रकालमा जस्तो पटक पटक मेरो सरकार भनि गरेको सम्बोधनप्रति स्वयं सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा)का द्धितीय अध्यक्ष पुष्पकमल दाहालले समेत असन्तुष्टि व्यक्त गरेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा मंगलबार तेस्रो दिन प्रतिनिधि सभामा सहभागी हुँदै पूर्वप्रधानमन्त्री समेत रहेको नेता दाहालले राष्ट्रपतिको सम्बोधनका क्रममा व्यक्त पदावलीप्रति घुमाउरो पाराले असन्तुष्टि व्यक्त गरे।

उनले देशमा सयौँ, हजारौँ वर्षदेखिको राजनीतिक प्रणालीमा मात्रात्मक नभइ गुणात्मक परिवर्तन गरेको बताउँदै यसको सारतत्वलाई ध्यान दिएर जनप्रतिनिधिहरुलाई, राजनीतिक पार्टीका नेताहरुलाई पनि यो परिवर्तनको स्तर, यसको गहिराई, यसको उचाईलाई ध्यान दिएर नै बहसमा प्रस्तुत हुनु पर्ने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कतिपय सत्तापक्षका नेताहरुले त्यसको प्रतिवाद गर्नेक्रममा हिँजैदेखि चलिआएको चलन भनेकोप्रति लक्षित गर्दै उनले भने, ‘हिँजो राष्ट्रिय पञ्चायतमा जस्तो वा राजतन्त्र अन्तरगतको हाम्रो बहुदलीय प्रणाली अन्तरगतको जस्तो मात्रै यो छैन। यसमा एउटा गुणात्मकता छ र यो प्रणालीले हामी सबैबाट पनि गुणात्मक ढंगले बहसलाई माथि उठाउन र हाम्रा सबै सोच र शैलीहरुलाई पनि त्यसको अनुकूलन बनाउने मनसायको साथ त्यसको निम्ति आवश्यक मेहनतको साथ हामी जानु पर्दछ भन्ने मलाई लाग्दछ।’

साथै उनले अहिले पनि परिवर्तनका उपलब्धीहरुको रक्षा र संविधानको कार्यान्वयन मार्फत देशमा राजनीतिक स्थिरता र दिगो शान्तिसँगै जनताको चाहना अनुरुप विकास र संमृद्धिको लक्ष्य हाँसिल गर्न सत्ता र प्रतिपक्षबीच अहिले नै निषेधको राजनीतिमा जाने छुट नभएको बताए।

उनले पटक पटक दोहोर्याउँदै अझै पनि परिवर्तनकारी शक्तिहरुबीच आपसी सहमति, सहकार्य र एकताको खाँचो भएको भन्दै अहिले देखिएको सत्ता र प्रतिपक्ष दलबीचको मतभेदप्रति पनि असन्तुष्टि व्यक्त गरे।

दाहालले आज व्यक्त गरेको अभिव्यक्ति अहिलेसम्म संसदमा उनले व्यक्त गर्दै आएका अभिव्यक्ति भन्दा उत्कृष्ट थियो।