के साँच्चै सांसदहरुले प्रधानमन्त्रीसँग आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्ति राखेकै हुन त?

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २५

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको पूरक प्रश्नलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ‘आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्ति’हरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु भने।

जसको कारण प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाउँदै संसदीय नियमावली बमोजिम व्यक्त गैरसंसदीय र अमर्यादित शब्द फिर्ता लिन र संसदको रेकर्डबाट हटाउन माग गर्दै सदनमा विरोध गरे।

सभामुख कृष्णबहादुर महराले विपक्षीले उठाएको विषयलाई केबल ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री ओलीलाई बोल्न समय दिएपछि सदनमा झण्डै १२ मिनेट प्रधानमन्त्री ओली र विपक्षी दलका सांसदहरुबीच जुहारी नै चल्यो। भनावैरी भयो। सदनको गरिमा बचाउने जिम्मेवारी लिएर बसेका सभामुख साच्चैँ सभामुख नभई विपक्षीको ‘समामुख’ जस्तै बने।

प्रधानमन्त्री र विपक्षीबीचको जुहारीमा रमिते बनेका सभामुख महराले सदन सञ्चालनमा कुशलता देखाउन मात्र नसकेको होइन, उनले संसदीय इतिहासमै नभएको र हुन नसक्ने गलत नजिर बसाल्दै विपक्षीको अवरोध र विरोधकाबीचमै सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।

आखिर प्रधानमन्त्री ओलीलाई कुन प्रश्न आक्रोस, कुन प्रश्न कुण्ठा र कुन निम्छरा अभिव्यक्ति लाग्यो त्यसबारे अहिलेसम्म जानकारीमा आएको छैन। एक जना सत्तापक्षकी सांसद दुर्गाकुमारी विश्वकर्मा बाहेक बाँकी ३० जना सांसद विपक्ष दलहरुबाट थिए। उनीहरुले राखेको प्रश्न र जिज्ञासा साँच्चिनै आक्रोस, कुण्ठा, र निम्छरा हुन् वा गम्भिर प्रश्न? यो छुट्याउने जिम्मा पाठक महानुभावलाई छोड्दै सांसदहरुले सोधेका प्रश्न जस्ताको तस्तैः

प्रेम सुवालः सम्माननीय सभामुखज्यू, सभामुख महोदयमार्फत प्रधानमन्त्रीजीसँग जिज्ञासा राख्न चाहन्छु,         १. १२ हजार अस्थायी करार शिक्षकहरु आमरण अनसनसहित आन्दोलनरत हुनुहुन्छ। उहाँहरु अयोग्य भए २०÷२५ वर्ष अगाडि नै किन भर्ना गरियो? योग्य भए अहिले किन निकालियो? २. साम्राज्यवादी नेतृत्वको हिन्दप्रशान्त सैन्य गठबन्धनको समर्थनपछि के अब सरकार नाटो (नर्थ एटलान्टीक मिलिटरी अर्गनाइजेसनमा) सदस्य बन्दैछ? ३. कुन कुन देशको कम्युनिष्ट सरकारको राष्ट्रपतिले मेरो सरकार भन्ने चलन छ? धन्यवाद।

दिव्यमणीराज भण्डारीः सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुखमार्फत म सम्माननीय प्रधानमन्त्रीज्यूलाई केहि प्रश्न राख्न चाहन्छु, सर्वप्रथम प्रकृतिको अनुकूलले गर्दा आलु र धानको प्रडक्सन यसपालि बढ्यो त्यसको जस पनि प्रधानमन्त्रीजीले लिनुभयो। तर, व्यवस्थापनको व्यवस्थापनको कमजोरी र भिजनको कमजोरीले कतिपय परियोजनाहरु आफूले सोचेको अनुसार हुन सकेन। त्यसको जवाफदेही र जिम्मेवारी यो मन्त्रिपरिषदले लिन्छ कि लिँदैन? अर्कोकुरा प्रधानमन्त्रीज्यूले अघि भन्नु भयो कि, आफ्नो सुविधाको लागि कार्य गर्दा अरुको अधिकार हनन गर्न हुँदैन भनेर। त्यस्तै यो गरिमामय सदनको सांसदज्यूहरुको निम्ति छुट्याएको जग्गामा मन्त्रिपरिषदका सदस्यहरुको निम्ति विलासी भवन बनाउने जुन निर्णय गरेको सुनेको छु त्यसलाई फिर्ता लिई काठमाडौँ उपत्यका सांसदलाई घर बनाउने (लाइन काटियो)

पुष्पा भुसालः सम्माननीय सभामुख महोदय, भर्खर सुनियो, भन्नुभयो मानव अधिकारको रक्षा हाम्रो प्रतिबद्धता भनेरे प्रधानमन्त्रीजीले भन्नु भयो। र उहाँले भन्नु भयो, सबै अपराधी जेलमा गए। मलाई लाग्छ, विर्सिनु भयो हाम्रो प्रधानमन्त्रीज्यूले बलत्कारपछि हत्या गरिएको एउटा निर्दोष बालिका निर्मला पन्तको अपराधी अहिले पनि जेल जान बाँकी छ। म सम्माननीय सभामुख मार्फत प्रश्न गर्न चाहन्छु, निर्मला पन्तको अपराधी कहिले जेल जाने? स्पष्ट रुपबाट जवाफ चाहन्छु। धन्यवाद।

सुजाता परियारः सम्माननीय सभामुख महोदय, प्रधानमन्त्रीज्यूको मैले आशा गरेको थिएँ, हिँजो आफ्नो कुरा राख्दा राखेको थिएँ, सरकारको संमृद्ध नेपाल, सुखी नेपाल भन्ने नारा छ यो नाराको राष्ट्रिय आकांक्षा पूरा गर्न समाजका हरेक वर्ग र समुदाय सुखी हुनु पर्दछ। तर, पीछडिएको बर्ग र दलीत समुदायलाई सम्बोधन गरिने कुनै पनि स्पष्ट नीति तथा कार्यक्रम आउन सकेन। देशको ठूलो जनसंख्या ओगटेको यो वर्ग र समुदायवीना सरकारले कस्तो संमृद्धि चाहेको हो? स्पष्ट पारीदिनका लागि प्रधानमन्त्रीज्यूलाई गर्न चाहन्छु। र उहाँले अहिले आफ्नो कुरा राख्ने सन्दर्भमा राख्नुहुन्छ होला भनेर मैले आशा गरेको थिएँ तर, उहाँले तल्लो वर्गका लागि थुप्रै कार्यक्रम ल्याएको छु भन्नु भयो कुन बुँदामा कति नम्बरमा ल्याउनु भएको छ नीति तथा कार्यक्रममा यो पनि स्पष्ट पारिदिनका लागि म अनुरोध गर्दछु।

गगनकुमार थापाः सम्माननीय सभामुख महोदय, राष्टपतिज्यूको सरकारको प्रधानमन्त्रीज्यूले वाइड बडी खरिद प्रकरण, बालुवाटार जग्गा प्रकरणमा दोषीलाई दण्डित गर्न अभूतपूर्व काम गरेको भनि स्वयंको प्रशंसा गर्नु भयो। छानविन गर्ने निकाय एकातर्फ छ फैसला दिने प्रधानमन्त्री। मन्त्रीजी निर्दोष हुनुहुन्थ्यो, महासचिव ठगिनु भएछ, अर्को महासचिव विचारा। यस्तो कुरा प्रधानमन्त्रीज्यूले कहाँबाट थाहा पाउँनुभयो होला?

दिलेन्द्रप्रसाद बडुः सम्माननीय सभामुखज्यू, सम्माननीय प्रधानमन्त्रीजीले महाकाली नदीमा तुइनहरु विस्थापन गरेँ भनेर, बडा दुःखका साथ यहाँ भन्नुपर्छ, झुटा विवरण यहाँ प्रस्तुत गनु भयो। यथार्थमा महाकालीको दार्चुलाको सीमानामा पर्ने यदि हो भने त्यहाँ लाडि झोलुंगे पुल र तिग्रम झोलुंगे पुल दुइवटा ४८ सालको नेपाली कांग्रेसको नेतृत्वको सरकारले भारत सरकारसित सहमति लिएर द्धन्द्ध समाप्त हुने वित्तिकै सुरु गरेर सम्पन्न भएका झोलुंगे पुल हुन्। त्यो भन्दा बाहेक दार्चुलामा कुनै छ भने त्यसको नाम जानकारी दिनु पर्यो, या अरु सीमानामा अरु जिल्लाको सीमानामा हो भने, त्यसको पनि नाम जानकारी दिनु पर्यो। अन्यथा यो झुटा विवरण राख्न सुहाँउने कुरा भएन। हस् धन्यवाद।

डिला संग्रौला पन्तः सम्माननीय सभामुखमार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न सोध्न चाहन्छु,  प्रधानमन्त्रीज्यूले सुशासनको जगमा नै आर्थिक संमृद्धि हुन्छ भन्नु भयो। यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। वाइड बडी काण्ड, ३३ किलो सुन काण्ड, बुढी गण्डकी जलविद्युत परियोजना काण्ड, मेलाम्ची खानेपानी काण्ड, एनसेल छली काण्ड, हुँदाहुँदा बालुवाटारको ललिता निवास जग्गा प्रकरण काण्डमा सरकार फँसेको छ। सरकारले भ्रष्टाचारलाई रोक्नु भन्दा पनि यी काण्ड घटाउनेलाई संरक्षण दिँदै हिँड्नु भएको छ। प्रधानमन्त्रीज्यू, भ्रष्टाचार म गर्दिन, गर्न पनि दिन्न भन्नु हुँन्छ, भ्रष्टाचारको जगमा आर्थिक संमृद्धि कहाँ हुन्छ? जवाफ चाहन्छु, धन्यवाद।

पार्वता डिसी चौधरीः सम्माननीय सभामुखज्यू, सभामुखमार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो प्रश्नः महाकाली नदीमा कुन कुन ठाउँमा कतिवटा कहिले तुइन विस्थापित भए जवाफ पाउँ। निर्मालाको हत्यारा कहिलेसम्म पत्ता लाग्छ जनता जान्न चाहन्छन्। बालुवाटार, टुँडीखेल, सरकारी जग्गाहरु भूमाफियाले कब्जा गरेका छन्। कहिलेसम्म त्यीनीहरुलाई कारबाहीको घेरामा ल्याइन्छ? एनसेलसँग कर उठाउने कि नउठाउने? सरकारको यसमा के सोच छ? धन्यवाद।

हिरा गुरुङः सम्माननीय सभामुख महोदय, म प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु, द्धन्द्धका मृतकक परिवार एवं घाइते तथा त्यीनका परिवारका निमित्त कुनै विशेष योजना उल्लेख गर्नु भएन किन? उनीहरुको शिक्षा, स्वास्थ्य र जीवन यापनको कुनै योजना छ कि जानकारी चाहियो प्रधानमन्त्रीज्यू।

राजेन्द्रकुमार केसीः सम्माननीय प्रधानमन्त्रीज्यू, प्रस्तुत नीति तथा कार्यक्रमको १५२ औँ बुँदामा म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न, म देश र जनताका लागि इमान्दार रहेर काम गर्ने प्रतिज्ञा गर्दछु भन्ने प्रतिबद्धता व्यक्त गर्ने निर्देशन जारी गर्नु भएको रहेछ। गतसाल पनि यस्तै प्रकारको निर्देशन जारी गर्नु भयो। म प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु, कि यसै वर्ष भएका भ्रष्टाचारका सम्बन्धमा कस्तो अनुभव गर्नु भएको छ? ३३ किलो सुन तस्करहरुलाई जेल चलान गरेँ भन्नु भयो, ३३ किलो सुन चाहीँ कहाँ छ प्रधानमन्त्रीज्यू? यसको जवाफ चाहियो।

संजयकुमार गौतमः सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो प्रश्न छ, आपतकालिन हवाइ जहाज अवतरण गर्ने राजमार्ग बनाउने कुरा त आयो तर, त्यसको सट्टा राजमार्ग गाउँशहरका बाटोहरुलाई वातावरणमैत्री, पैदल यात्रीमैत्री, पेटी भएको साइकलमैत्री साइकल चल्ने लेन भएको, राष्ट्रिय निकुन्जमा पर्ने राजमार्गलाई वन्यजन्तुमैत्री ओभरपास र अण्डरपासको व्यवस्था भएको बनाउँदाखेरी त राम्रै हुन्थ्यो होला नि। शहिदहरुले देखेको सपना जस्तै प्रेरणादायी, यथार्थपरक र आशालाग्दो हुन्थ्यो कि प्रधानमन्त्रीज्यूले के सोच्नु भएको छ? धन्यवाद।

देवेन्द्रराज कँडेलः सम्माननीय प्रधानमन्त्रीज्यूले भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर पटक पटक भनिराख्नु भएको छ। म प्रश्न गर्न चाहन्छु, मार्सी चामलदेखि लिएर मन्दिरको दर्शनसम्म विहान, बेलुकी बालुवाटारमा आउनेको लिष्ट यदि जारी गरियो भने अनि बल्ल त्यसबाट थाहा हुन्छ कि भ्रष्टाचारीको मुख उहाँले हेर्नु हुन्छ वा हेर्नुहुन्न? त्यसकारण मेरो आग्रह छ, उहाँले त्यो लिष्ट सार्वजनिक गर्नुहोस्, त्यहाँ भूमाफिया छन् कि मेडिकल माफिया छन् कि सुकुम्वासीको नाममा जग्गा अपहरण गर्ने माफियाहरु छन् भन्नेकुरा प्रष्ट हुन्छ। धन्यवाद।

शरदसिंह भण्डारीः सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूले संविधान भनेको परिवर्तनीय दस्तावेज हो यसबारे छलफल हुन्छ, संशोधन हुन्छ भनेर अहिले भर्खरै बोल्नु भयो उहाँले। हामीले बारम्बार भन्दै आएका छौँ, यो यो संविधानमा संशोधन हुनु पर्छ र हाम्रो विमती छ। उहाँले बोल्ने एउटा कुरा लेख्ने अर्को कुरा किन गर्नु भयो? यसबारे स्पष्ट पारिदिए राम्रो हुन्थ्यो धन्यवाद।

अनिलकुमार झाः सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूले गएको दशैंभन्दा पहिले नै बसेर विस्तृत छलफल गरौँ दशैंमा अलि फुर्सद हुन्छ भन्नु भएको थियो। अब अर्को दशैंको फुर्सदमा त्यस्तो छलफल हुने हो कि भनेर मैले बुझ्न चाहेको छु नम्बर एक। नम्बर २, तुइन विस्थापित गर्न पटक पटक जोड गर्नुहुने प्रधानमन्त्रीज्यूले घाटघाटमा बनिरहेको पुलहरुमा बजेट विनियोजित नगरेर रोकिएको छ। गतवर्ष पनि दर्जनौँ मान्छे डुंगाबाट डुबेर मरेको छ। त्यो डुंगा विस्तापनको कार्यक्रम पनि आउँछ कि? त्यसको बारेमा स्पष्ट हुन चाहन्छु, धन्यवाद।

उमा रेग्मीः सम्माननीय सभामुखज्यू, यो राष्ट्रपति महिला उत्थान कार्यक्रम बडो गहकिलो किसिमले व्याख्या गरिएको छ। तर, यसको कार्यान्वयनको संयन्त्र र प्रक्रिया के हो र कस्ता महिलाहरुलाई कसरी उत्थान गर्ने के कस्ता कार्यक्रमहरु छन्? यसको बारेमा केहि कुरा स्पष्ट भएन, स्पष्ट होस् भन्ने चाहन्छु, धन्यवाद।

मीनेन्द्रप्रसाद रिजालः सम्माननीय सभामुख महोदय, राष्ट्रपतिको सम्बोधनको लिखित दस्तावेजमा सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई सम्माननीय भनेको छ, अडियो र भिडियोमा माननीय छ, आधिकारिक के हो जानकारी पाउँ। आफूमातहको सरकारलाई मेरो सरकार नभनेर राष्ट्रपतिज्यूले के गर्ने भनियो। संविधानको भाग ६ र ७ ले राष्ट्रपतिको मातहत नेपाल सरकार राखेको छैन। प्रदेश र संघ, प्रदेश संघको मातहत भन्नु भयो प्रधानमन्त्रीले, संविधानको धारा ५६ ले साझा होइन, बेग्लाबेग्ले अधिकार क्षेत्र पनि व्यवस्था गरेको छ, मातहत होइन। सरकार संविधानले पूर्ण प्रेस स्वतन्त्रता भनेको छ, सरकार प्रेस  नियमक निकाय बनाउँछु र मर्यादित र व्यवसायिक बनाउँछु भन्छ। क्षमा गर्नुहोस् प्रधानमन्त्रीज्यू, तपाई हाम्रोेबीचमा सञ्चार व्यवधान भएकै छ। हामीले भनेको कुरा तपाइलाई गम्भिर लाग्दैन, तपाइले बोलेको कुरा कुरा नागरिकलाई ख्यालठट्टा, मनोविनोद, व्यंग्यविनोदका रुपमा लाग्न थालेको छ। यो व्यवधान अन्त्य कहिले हुन्छ? क्याम्बोडियाको भ्रमण पछाडि कि अझ पर्खिनु पर्छ? धन्यवाद।

लक्ष्मी परियारः सम्माननीय सभामुख महोदय, संविधानको धारा ४० बमोजिम दलीत समुदायका विपन्न परिवारलाई न्यूनतम् सुविधा सम्पन्न आवास, जीविकोपार्जन गर्न पुग्नेगरी जमिन उपलब्ध गराउने नीति तथा कार्यक्रममा कहाँ लेखिएको छ? कि यो पनि सरकारलाई पाखण्डी कुरा भएको छ? म सोध्न चाहन्छु प्रधानमन्त्रीज्यूलाई, हुनत यो संसदीय मर्यादाको कुरा आउँछ अहिले तर, यो शब्द सम्माननीय प्रधानमन्त्रीज्यूको हो त्यसैले मलाई राम्रो होला भनेर मैले दोहोर्याएँ, धन्यवाद।

ज्ञानेन्द्रबहादुर काकीः सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदयमार्फत म सम्माननीय प्रधानमन्त्रीजीलाई प्रश्न राख्न चाहन्छु, कि गत सालतको नीति तथा कार्यक्रममा पाँच वर्षभित्र कुनै पनि नेपाली युवाले विदेशमा रोजगरीका निमित्त जानु पर्दैन भन्ने घोषणा भएको थियो।  र अहिले एकवर्षभित्र कति युवाले रोजगारी पाए त्यसको जवाफ म प्रधानमन्त्रीजीबाट जान्न चाहन्छु। यस पटकको नीति तथा कार्यक्रममा पाँच लाख युवालाई, पाँच लाख नेपालीलाई रोजगारीको श्रृजना गर्छु भनेर घोषणामा आएको छ र यसको विश्वसनीय आधार के छ? त्यो कुरा यो सम्मानित सदनमार्फत आम वेरोजगार नेपाली जनतालाई प्रष्ट पार्नका निमित्त म सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गर्दछु। र जहाँसम्म माक्सको कुरा प्रधानमन्त्रीजीले गर्नुभो, प्रधानमन्त्रीजीलाई यत्ति सूचना रहेनछ कि अहिले काठमाडौंलाई डस्टमाण्डु भन्न थालिएको छ। डस्टमाण्डुमामा माक्स लाइन्छ कि लाइन्न? प्रधानमन्त्रीजीले स्पष्ट …

प्रमिला राईः सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो जिज्ञासा, यो जुन मुगुबाट एकजना महिला प्रसव पिडा भएका महिलालाई रेस्क्यु गरियो। यो अत्यन्त राम्रो कुरा हो। प्रशंसनीय कुरा हो तर, प्रधानमन्त्रीज्यूले अहिले भर्खर भन्नु भयो, हामीले अप्ठेरो जहाँ गाडी, घोडा जाँदैन त्यहाँ हामीले हेलिकप्टरबाट रेस्क्यु गरेर ल्याउने हाम्रो व्यवस्था छ भन्नु भयो। यस्तो अत्यन्त विकट र दुर्गम जिल्लामा धेरै ठाउँहरु छन् जहाँ गाडी घोडा पुग्दैन, त्यहाका महिलाहरु कुन कुन जिल्ला कतिवटा छ र त्यस्तो अवस्थामा ल्याउन पर्ने के के अध्ययनहरु भएका छन्? प्रधानमन्त्रीज्यूबाट जानकारी पाउँ, धन्यवाद।

मीनबहादुर विश्वकर्माः सम्माननीय सभामुख महोदय, हाम्रो राष्ट्रपतिको सरकारका प्रधानमन्त्रीले कोशीमा एकपटक एउटा स्टीमरमात्र के देख्नुभाथ्यो, बारम्बार पानीजहाजको गीत गाइराख्नुभाछ। त्यो स्टीमर २०६१सालदेखि स्थानीयवासीले सञ्चालन गरेका हुन्। अब विगतमा पहिले प्रधानमन्त्री हुँदा भन्नु भएको छ, पहिले प्रधानमन्त्री हुँदा उहाँले काँधमा ग्याँस बोक्नु पर्दैन, साइकलमा सिलिण्डर गुडाउन पर्दैन, धारामा ट्वाक्क किचनमा खोल्दा पानी जस्तै ट्याक्क ग्याँस आउँछ भन्नु भाथ्यो, अहिले चारवर्ष वितेछ, अब कहिले आउँछ त्यो मेरो प्रश्न छ। भ्रष्टाचारीको मुख हेर्दिन, म भ्रष्टाचार गर्दिन भन्नु भएको छ। तर, २५ अर्ब भन्दामाथिको ठेक्कापट्टा प्रधानमन्त्रीले मात्रै लगाउने भनेर नियम बनाइएको छ। अब भ्रष्टाचारी सम्माननीय प्रधानमन्त्री आफैँ गर्ने हो वा अरुलाई गर्न दिने हो स्पष्ट पारिदिन अनुरोध गर्दछु, धन्यवाद।

मिना पाण्डेः सम्माननीय सभामुख महोदय, यो महिला हिंसामा परेका महिलाहरुलाई पुनस्थापन केन्द्र स्थापना गर्ने आदि धेरै कुराहरु भनिएको छ। अब त धेरै भो त्यो निर्मला पन्तको हत्यारालाई एकचोटी थुनेर देखाइदिनु पर्यो र देखाइदिनु पर्यो प्रधानमन्त्रीजी। अर्को प्रधानमन्त्रीजीले अघि उत्तर दिनेकुरामा भन्नु भयो, सार्वजनिक सम्पत्ति, जग्गा कुनै पनि संघ संस्थाले लिएको छ भने त्यसलाई लिइन्छ, उपयोग गरिन्छ भन्नु भयो, जस्तो साल्ट ट्रेडिङ जस्तो। साल्ट ट्रेडिङ जस्ता संस्थाहरुको त लिन सजिलो होला, हिँजो मतका लागि अरु विभिन्न म अहिले धेरै किन भनु, मत कलेक्सन गर्नका लागि पनि भनेर जंगल फाँडेर बसाइएका धेरै अतिक्रमण गरेर बसाइएका व्यक्तिहरु छन्। म अरुकुरा देशभरी नै यो जंगलहरुलाई फाँड्ने कुरा त भएकै छ तर, सर्लाही जिल्लाको बथानियादेखि लालबन्दीदेखि मर्तिया लालबन्दी चौडीदेखि लिएर ठूला ठूला जंगलहरु सबै समाप्त पारिएको छ…

तेजुलाल चौधरीः सम्माननीय सभामुख महोदयमार्फत सम्माननीय प्रधानमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु,  यसपालीको नीति कार्यक्रममा दुइवटा विश्वविद्यालय खोल्ने आएको छ। विश्वविद्यालय खोल्ने राम्रै कुरा हो, त्यसमा कुनै उ छैन। तर, अरु पनि विश्वविद्यालय चाहिने हो, तर, किन विश्वविद्यालयहरुलाई निजी क्षेत्रलाई दिदैन, निजी क्षेत्र टेक्निकल र व्यवसायीक विश्वविद्यालय खोल्ने सोच सरकारकोे के छ जवाफ चाहियो, धन्यावाद।

अमरेशकुमार सिंहः सम्माननीय सभामुख महोदय, संविधानको धारा २७९ को उपधारा २ को अनुसार, सुरक्षा एवं सामरिक महत्व वा राष्ट्रलाई दीर्घकालिन असर पर्ने कुनै पनि सन्धि सम्झौता गर्दाखेरि संसदको दुई तिहाइबाट पारित हुने, विआरआइ (बेल्ट एण्ड रोड इनिसिएटिभ्स्)को सम्झौता गर्दाखेरि त्यत्रो दीर्घकालिन असर पर्नेमा दुई तिहाइबाट पारित र अनुमोदन गर्न पर्छ कि पर्दैन? सभामुख महोदय, यो म प्रधानमन्त्रीजीसँग सोध्न चाहन्छु। दोस्रो कुरा, ८ किलोमिटर कलंकीदेखि नागढुंगासम्मको सडक नबनाउन सक्ने सरकार ८ हजार किलोमिटर सडक बनाएको छु भन्ने यो गफले नेपाली जनताको पेट भर्दैन। तेस्रो कुरा, नेपालको कृषकहरुको गन्नाको पेमेन्ट गरिराखेको छैन। सरकार आफैँ मिलमालिकको विचौलिया बनेर खडा भएको छ र जनतालाई पीडित बनाइराखेको छ। यसको बारेमा पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। लाष्टमा भर्खर प्रधानमन्त्रीले ६ महिनाभित्रै रिङरोडको कुलेश्वर (कोटेश्वर)देखि कलंकीखण्ड हस्तान्तरण भएको छ तर, ६ महिनाभित्र त्यो…

प्रकाश रसाइली स्नेहीः सम्माननीय सभामुख महोदय, कम्युनिष्टले गर्दा राष्टवाद, कांग्रेसले गर्दा राष्टघात। बुढी गण्डकी योजना विना प्रतिस्पर्धा चिनिया गेजुवा कम्पनीलाई किन दिइयो? त्यो कम्पनी नेपाल आफैँले सञ्चालन गर्ने भनेर हरेक नेपालीबाट पेट्रोलियम पदार्थमा पाँच रुपैयाँ बृद्धि गरेर लिइयो। त्यो कहिले घटाइन्छ? बुढी गण्डकी योजना चिनिया कम्पनीलाई किन दिन प्रतिस्पर्धा गरियो त्यसका बारे म प्रश्न सोध्न चाहन्छु। दोस्रो कुरा, माघ ११ गते संसदमा जबरजस्त पास भएको चिकित्सा शिक्षा विधेयकमा सरकारले त्यतिखेर अब सबै गोविन्द केसी लगायत प्रतिपक्षी दलले दिपावली मनाउनुहोस् भनेर भन्यो। आज मेडिकल माफियाले विद्यार्थीलाई कोठामा थुनेर मेडिकलको गेटमा दलाल राखेर फि लिइरहेका छन्। सरकार कहाँ लुकेर बसेको छ सभामुख महोदय? यसैगरी सरकारलाई दलीतहरुका बारेमा नीति तथा कार्यक्रममा कहि पनि केहि लेखेको छैन सभामुख महोदय,। १५ महिना भयो नेपालमा दिन दुई गुना रातमा चौगुना जातिय विभेदका घटनाहरु घटिरहेका छन्। १५ महिनासम्म दलीत आयोग किन गठन गरिएन? दलीत विकास समिति किन खारेज गर्नु भयो प्रधानमन्त्रीज्यू यसको बारमा जवाफ चाहियो, धन्यवाद।

रामबहादुर विष्टः सम्माननीय सभामुख महोदय, यो गरिमामय सदनमा सम्पूर्ण सांसदहरुको समान हक र अधिकार हुनेछ भनेर संविधानमा व्यवस्था छ। प्रत्यक्ष निर्वाचित सांसदहरुले रु चार करोड बाँड्न पाउँछन् तर, समानुपातिक सांसदहरुले त्यो सुविधा पाउँदैनन् भन्ने कुरा सम्माननीय प्रधानमन्त्रीज्यूलाई थाहा छ कि छैन? स्पष्ट हुन चाहन्छु, धन्यवाद।

सत्यनारायण खनालः सम्माननीय सभामुख महोदय, म यहाँ मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न सोध्न चाहन्छु, यहाँको नारा मात्रै होइन, कार्ययोजनाको आधार हो नीति तथा कार्यक्रम भन्नु भो। यो वर्ष आधार वर्ष हो भने यो पाँच वर्षमा कति युवा यवतीहरु विदेश जानेछन्? किन भने सरकार त्यसमा अझ अरु नयाँ उसमा केरे कार्यक्रम हाम्रो छ भनेर भन्या छ। र दोस्रो प्रश्न, यो नीति तथा कार्यक्रममा शान्ति प्रक्रिया पूरा भयो भनेर भनिएको छ तर, सम्माननीय प्रधानमन्त्रीकै पार्टीको नेकपा पार्टीका अर्का अध्यक्षज्यूले पूरा भएन भनेर अहिले नै भन्नु भो, यसअगाडि भन्नु भो। यस सम्बन्धि सम्माननीय प्रधानमन्त्रीज्यूको के भनाई छ त्यो जवाफ पाउँ, धन्यवाद।

देवप्रसाद तिमिल्सिनाः सम्माननीय सभामुख महोदय, सभामुख मार्फत म सम्माननीय प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु प्रश्न गर्न चाहन्छु, रोडमा पनि बाटोमा एयरपोर्ट बनाउने जुन उहाँले प्रस्तुत गनु भो त्यसको लागि कति बजेट विनियोजन गरियो? त्यसको पनि जानकारी पाउँ। अहिलेको परिस्थितिमा यो सरकारले सम्माननीय प्रधानमन्त्रीले सबै बजेट झापाको आफ्नो क्षेत्रमा मात्रै लगेर काम गरेको छ। सर्वहाराको नाउँमा घर बनाइदिन्छु, अब शितलहरमा कोहि मर्नु पर्दैन भन्ने कुरा सम्माननीय प्रधानमन्त्रीज्यूले पटक पटक सदनमा प्रस्तुत गर्नु हुन्छ। कतिवटा घर बन्यो, त्यसको जानकारी पाउँ, धन्यवाद।

दुर्गाकुमारी विश्वकर्माः सम्माननीय सभामुख महोदय, मैले सम्माननीय राष्ट्रपतिज्यूले प्रस्तुत गर्नुभको नीति तथा कार्यक्रमलाई पूर्णरुपमा मूलरुपमा समर्थन गर्दै एउटा जिज्ञासा मैले सोध्न खोजेँ, शान्ति प्रक्रिया नितान्तैै राम्रो ढंगले अगाडि बढेको र त्यसको केहि कामहरु अगाडि बढाउन बाँकी कामलाई सुझाव स्वरुप राख्न खोजेँ। जनयुद्धका शहिद, वेपत्ता, घाइते, अपांगहरुकोबारे यो नीति कार्यक्रममा समेटिएन। र यो समेटिने क्रममा पनि शहिद घोषणा गर्ने, वेपत्ताको खोजी गर्ने, घाइतेको व्यवस्थापन, औषधी उपचार गर्ने र द्धन्द्धकालीन अवस्थामा लागेका नेकपाका कार्यकर्ताहरुलाई लागेका मुद्दाहरु खारेज गर्नेबारे के छ? यसको जवाफ माग्न चाहेँ, धन्यवाद।

दुर्गा पौडेलः सम्माननीय सभामुख ज्यू, सभामुख महोदय मार्फत सम्माननीय प्रधानमन्त्रीजीलाई मेरो जिज्ञासा, प्रवासी नेपालीहरुलाई मतदानको अधिकार सम्बन्धित देशमै व्यवस्था गर्नको निम्ति सर्वोच्च अदालतलेसमेत निर्देशनात्मक आदेश जारी गरीसकेको थियो। त्यो यो नीति कार्यक्रममा किन आउन सकेन कि छुट्न गएको हो कि भन्ने मेरो जिज्ञासा छ, धन्यवाद।

बालकृष्ण खाँणः सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय सभामुख मार्फत प्रधानमन्त्रीजीलाई मेरो प्रश्न छ, अहिले रोष्ट्रममा बोल्दा पनि उहाँले मानव अधिकार रक्षाका लागि प्रतिबद्ध छु भन्नु भो। र मानव अधिकार आयोगको विधेयक अहिले बाँडिरहनु भा छ र उक्त विधेयकमा मानव अधिकार आयोगको स्वायत्त र स्वतन्त्रता खारेज गरिएको छ। मानव अधिकार आयोगलाई कमजोर बनाएर नागरिकको मानव अधिकारको रक्षा कसरी हुन्छ? म यो जिज्ञासा राख्न चाहन्छु। र सरकार शिक्षकका प्रति र प्राध्यापक, कलाकार र बुद्धिजिवीहरुका प्रति किन असहिष्णु छ? शिक्षकको माग पूरा गर्न सरकार के गर्दै छ? अघि प्रधानमन्त्रीजीले बोल्दाखेरि भन्नु भयो, हाइवेमा हामीले हवाइजहाज ल्याण्ड गराउन एयरपोर्ट बनाउँछौँ भनेर भन्नु भो, यो एयरपोर्टलाई हाइवे बनाउने हो कि हाइवेलाई एयरपोर्ट बनाउन खोज्नु भा हो?

महेन्द्रराय यादवः सम्माननीय सभामुख महोदय, मैले प्रधानमन्त्रीसँग अस्पष्ट हुन चाहेको के हो भने, यो अस्थायी शिक्षकहरु जुन आमरण अनसनमा बस्नु भएको छ उहाँहरुकोबारेमा सरकारको सोच के छ? अर्को यो प्रधानमन्त्री आधुनिक कृषि योजनाको सवालमा धेरै अपारदर्शिता छ। यसको बारेमा सरकारको दृष्टिकोण के छ? तराइ÷मधेसमा अहिलेसम्म मलाई लाग्छ कि २० प्रतिशत बजेट भन्दा कहिल्यै पनि गएको छैन। जनसंख्याको आधारमा बजेट जान्छ कि जाँदैन? सिंचाई अहिले कहिलेसम्म तराइको भूमिबारे नेपालको सम्पूर्ण जग्गामा सिंचाइको व्यवस्था हुन्छ? र यो फास्टट्रयाक र निजगढ अन्तराष्ट्रिय विमानस्थल कहिलेसम्म बन्छ? यो कालोपत्रेमा धेरै गुणस्तरहिन भएको छ। सरकारले यसलाई गुणस्तर जाँच गर्न तयार छ कि छैन? यो बाढी नियन्त्रणका लागि प्राधिकरण बनाउन सरकार तयार छ कि छैन? यी सवालमा मैले अस्पष्ट हुन चाहेको हो। र हुलाकी सडकको पुल पुलेसाहरु कहिलेसम्म ठोसरुपमा निर्माण हुन्छ? त्यसको बारेमा अस्पष्ट हुन चाहन्छु, धन्यवाद।

(प्रतिनिधि सभाकाे मंगलबारकाे बैठकमा प्रधानमन्त्रीलाई साेधिएका प्रश्नहरू जस्ताकाे तस्तै)