निरंकुशताको बाटोमा ओली, निरिह सभामुखः देउवा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २५

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था आफ्नो पार्टीलाई स्वीकार्य नहुने स्पष्ट सन्देश दिएका छन्।

कांग्रेसले सुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियान अन्तरगत पहिलो चरणको प्रदेश नम्बर ३ अन्तरगत काठमाडौंमा बुधबार शुभारम्भ गर्दै सभापति देउवाले राणा शासन र राजा फालेको कांग्रेसलाई अरु कुनै प्रकारका तानाशाही व्यवस्था पनि मान्य हुन नसक्ने बताएका हुन्।

वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानको भावना र प्रावधान विपरित राज्यका सबै निकायमा हस्तक्षेप गरी शक्ति सन्तुलनको सिद्धान्त विपरित क्रियाकलाप अघि बढाएको आरोप लगाउँदै कांग्रेसले सरकार निरंकुशताको बाटोमा अघि बढेको आरोप लगाएको छ।

सभापति देउवाले प्रधानमन्त्रीले संसद्मा गैरसंसदीय शब्द प्रयोग गर्दा पनि सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम गराउन नसकी निरिह बनेर बसेको आरोप पनि लगाए।

उनले संसदीय लोकतन्त्रमा सत्तापक्षको सरकार प्रतिपक्षको संसद हुने बताउँदै सदनमा विपक्षीले बोल्न पाउनुपर्ने जिकिर गरे।

सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले ठाउँ ठाउँमा राजतन्त्र कालमा जस्तै गरी ‘मेरो सरकार’ भनि गरेको सम्बोधन प्रति गम्भिर आपत्ति जनाउँदै देउवाले त्यो पदावलीको प्रयोग संविधानको मर्म र भावनाविपरीत भएको बताए।

संविधानको धारा ७५ को उपधारा ३ मा संघीय कार्यकारिणीका सबै काम नेपाल सरकारको नाममा हुने उल्लेख छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जानीबुझीकनै सम्बोधनमा मेरो सरकार पदावली राखेको र त्यो भारतमा पनि राष्ट्रपतिले भन्ने गरेको तर्क गरेका थिए। तर, भारतीय संविधानमा त्यहाँको कार्यकारिणी अधिकार राष्ट्रपतिलाई दिएको मात्र होइन, संविधानले नै त्यहाँको सरकारको सबै काम राष्ट्रपतिकै नाममा हुने उल्लेख गरेको छ।

यसरी सरकारले बलजफती गरी गरेको संवैधानिक प्रावधानमाथिको अतिक्रमण विरुद्ध पार्टीका नेता कार्यकर्ताले जागरण अभियानमार्फत् आम जनतासमक्ष लैजानु पर्नेमा उनले जोड दिए।

स्थानीय तहबाट केन्द्रीय सदस्य प्रतिनिधि भएर आउने व्यवस्थाबारे पार्टीभित्र छलफल गर्ने सभापति देउवाले बताए।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जनताको प्रश्न संसद्मा राख्न खोज्दा सरकारका प्रधानमन्त्रीले गैरसंसदीय भाषाको प्रयोग गरेको आरोप लगाए।

प्रधानमन्त्री ओलीलाई हाँस्य कलाकारको संज्ञा दिँदै खाँणले सिंहदरबारभित्र हाँस्य कलाकारको प्रवेश भएको छ र उसले देश चलाएको छ भनि व्यंग्य गरे।

संविधानले राष्ट्रपतिलाई मेरो सरकार भन्ने अधिकार नदिएको बताउँदै उनले भने, ‘नेपालको संविधानले मेरो सरकार चिन्दैन, हाँस्य कलाकारले मात्रै चिन्दछ।’

उनले जागरण अभियानलाई नयाँ शैलीले अगाडि बढाउन खोजेको पनि बताए।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले जागरण अभियानले पार्टीलाई जगाउने काम गरेको धारणा राखिन।

बुधबारबाट शुरु भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गतेसम्म देशभर चल्नेछ। दोस्रो चरणको अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको अभियान पुस ७ देखि १६ गतेसम्म देशभर चल्ने कांग्रेसले जनाएको छ।