प्रम ओलीको बोलीले संसदसँगै जनता र प्रधानमन्त्री पदकै अवमूल्यन गर्योः निधि

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २६

नेपाली कांग्रेसले संसदमा प्रतिपक्षीले सरकारको अपमान नगरेको स्पष्ट पारेको छ।

बिहिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिपक्षीले सरकारको अपमान नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै बोलीका कारण अपमानित भएको बताए।

निधिले मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको असंसदीय अभिव्यक्तिले प्रतिपक्षी दल कांग्रेसको मात्र नभएर सिंगो संसद, आमजनता र प्रधानमन्त्री पदको अपमान गरेको आरोेप समेत लगाए।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई विगतको परम्पराविपरित माननीय मात्र भन्दै संविधानको धारा ७५ को उपधारा ३ मा उल्लेखित प्रावधिान विपरित पटक पटक नेपाल सरकारको सट्टा ‘मरो सरकार’ भनेपछि प्रमुख प्रतिपक्षी दलका नेतादेखि सांसदमात्र होइन कतिपय सत्तारुढ दलकै नेता समेतले गम्भिर आपत्ति प्रकट गरेका थिए।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले दम्भपूर्ण अभिव्यक्ति दिँदै कतिपय सवालमा ‘पाखण्डी’ तर्क त कतिपय प्रश्नलाई सांसदहरुको आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्तिको संज्ञा दिएपछि विपक्षी दल कांग्रेसले आपत्ति जनाउँदै सदनमा विरोध गरेको थियो।

निधिले प्रधानमन्त्री ओलीलाई बिगतमा आफूले बोलेका कुरा स्मरण गर्न पनि आग्रह गरे।

संसदमा मंगलबार सबैका भाषामा मर्यादित शब्दावली रहेको भन्दै निधिले प्रधानमन्त्रीले झन मर्यादित शब्दावलीको प्रयोग गर्नुपर्ने तर्क गरे।

सभ्य भएर प्रस्तुत हुने संसदीय प्रणालीमा गैरसंसदीय शब्द बोले सभामुखले तत्कालै मेटाउन निर्देशन दिने विश्वव्यापी चलन भए पनि सभामुख कृष्णबहादुर महाराले हटाउन निर्देशन नदिनुु अनौठो भएको उनको भनाई छ।

विपक्षी दलका सांसदले आपत्ति जनाउँदै गैरसंसदीय पदावली फिर्ता लिन र रेकर्डबाट मेटाउन आग्रह गर्दा सभामुख महराले पछि निर्णय गर्ने भन्दै अवरोधकाबीच नै नीति तथा कार्यक्रममाथिको प्रक्रिया अघि मात्र बढाएनन्, प्रधानमन्त्री ओली र विपक्षी दलका सांसदबीचको जुहारीमा मुकदर्शक बनेर रमिता हेरिरहेका थिए।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले सुरु गरेको राष्ट्रिय जागरण अभियान सफलतापूर्वक अघि बढेको जानकारी दिए।

कांग्रेसले वैशाख २५ गतेदेखि देशका ७७ जिल्लामा एक महिने राष्ट्रिय जागरण सुरु गर्ने निर्णय बमोजिम मोरङ र इलामा बाहेक अन्य जिल्लामा हिँजै सुरु भएको र यी दुईमा आज सुरु हुने जानकारी पनि दिए।

नवीन स्वरूपको कार्यान्वयनमा कतिपय जिल्लाले शुरुवाती अप्ठ्यारो अनुभुत गरेको पाइएपनि अधिकांश जिल्लामा ‘नवीन स्वरुपको, व्यवस्थित कार्यान्वयन’ भएको उहाले बताए।

काग्रेसले जागरण अभियानका उद्देश्यहरू पार्टीको स्थानीय पंक्ति हुँदै आम जनता समक्ष सम्प्रेषण गर्ने क्रममा दोस्रो दिनबाट अभियान क्षेत्र र गाउँ–नगर तहमा प्रविष्ट भएको जनाएको छ।