प्रधानमन्त्री ओलीले असंसदीय शब्द प्रयोग गरेको पुष्टि

नीति तथा कार्यक्रममाथिको जवाफका क्रममा ओलीले प्रयोग गरेका ‘पाखण्डी, कुण्ठा र निम्छरा’ अभिव्यक्ति संसदको रेकर्डबाट सभामुखले हटाए

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २७

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा व्यक्त असंसदीय पदावलीहरुलाई सभामुख कृष्णबहादुर महराले रेकर्डबाटै हटाएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्तिका अतिरिक्त पाखण्डी शब्द प्रयोग गरेपछि विपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाउँदै त्यी शब्द फिर्ता लिन र रेकर्डबाट हटाउन माग गरेको थियो।

तर सभामुख महराले त्यसदिन कुनै कारबाही नगरेपछि विपक्षीले सदन अवरोध गरेको थियो। त्यसका बाबजूद पनि सभामुखले नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रिया अघि बढाएपछि विपक्षीले आपत्ति जनाएको थियो।

शुक्रबारको प्रतिनिधि सभा बैठक सभामुखले सुरु गर्नासाथ विपक्षी दलले उभिएर विरोध जनाएपछि सभामुख महराले रुलिङ गर्दै वैशाख २४ गते मंगलबारको बैठकमा व्यक्त असंसदीय शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिए।

त्यसपछि सत्तापक्षका सांसद खगराज अधिकारीले आपत्ति जनाउँदै उक्त दिन प्रधानमन्त्री ओलीको मात्र नभएर विपक्षीबाट व्यक्त आपत्तिजनक पदावली पनि हटाउन माग गरे।

जवाफमा सभामुख महराले त्यसदिन प्रयोग भएका सबै असंसदीय पदावली सबै हट्ने जानकारी दिए।