सरकारको वार्षिक बजेटमाथिको प्रिबजेट छलफल आइतबार र सोमबार हुने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २७

सरकारको आगामी आर्थिक वर्षका लागि जेठ १५ गते पेश हुने वार्षिक बजेटको सिद्धान्त र प्राथमिकतामाथि आइतबारदेखि संघीय संसदमा सैद्धान्तिक छलफल हुने भएको छ।

सरकारको नीति तथा कार्यक्रम मंगलबार बहुमतले पारित गरेलगत्तै शुक्रबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयक, २०७६ का सिद्धान्त र प्राथमिकता छलफलका लागि पेश गरे।

प्रतिनिधि सभाको बैठकमा उक्त प्रस्ताव पेश गर्दै अर्थमन्त्री खतिवडाले देशमा विकासको वातावरण बनदै गएको दाबी गरे।

उनले आगमी आर्थिक वर्ष अधुरा आयोजना सम्पन्न गर्ने उदेश्यका साथ बजेट विनियोजन गरिने बताए।

आगामी आर्थिक वर्ष नेपालमा रेलमार्ग, जलमार्ग, सडकमार्ग लगायतका विकासका पुर्वाधारहरु बजेटको प्राथमितामा रहने उनले बताए।

अर्थमन्त्री खतिवडाले आगामी वर्ष समाजिक न्यायसहितको विकासको अधार वर्षका रुपमा सबै नेपालीको बैंक खाता हुने गरी बजेट विनीयोजन गर्ने र समृद्ध नेपाल सुखी नेपालीको आधारशिला निर्माण गर्ने पनि बताए।

आगामी वर्ष उच्च आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने तयारी भइरहेको जानकारी पनि उनले दिए।

प्रतिनिधि सभामा आर्थिक वर्ष २०७६ र ०७७ लागि अर्थमन्त्रीले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफल आगामी आइतबार र सोमबार हुने जनाईको छ।

त्यसैगरी अर्थमन्त्री खतिवडाले राष्ट्रिय सभाको बैठकमा वनियोजन विधेयक २०७६/७७ का सिद्धान्त र प्राथमिकताको खाकाभित्र रहेर बजेट तर्जुमा हुने भन्दै छलफलमा उठेका कुरा बजेट निर्माण गर्दा मार्गदर्शनका रुपमा लिने प्रतिबद्धता व्यक्त गरे।

अर्थमन्त्री खतिवडाले संवैधानिक व्यवस्थाअनुसार नागरिकका मौलिक हक र अधिकारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्दै जीवनयापनका न्यूनतम आधारभूत आवश्यकता शीघ्र पूरा गरिने विनियोजन विधेयकको प्राथमिकता रहेको बताए।

उनले आगामी वर्षको बजेटमा खाद्य सुरक्षा, रोजगारी, आधारभूत शिक्षा, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षालगायतका मौलिक कार्यान्वयन गर्न बनेका कानूनको कार्यान्वयन गरी सुरक्षित, सम्मानजनक र गुणस्तरीय जीवनयापनको अवसर सुनिश्चित गर्दै लगिने बताए।