प्रम ओलीले संसदीय मर्यादाको ख्याल गर्न नसक्नु लज्जास्पदः सिंह

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २८

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादा समेत ख्याल गर्न नसक्नु लज्जास्पद विषय भएको बताएका छन्।

काठमाण्डौ क्षेत्र नम्बर १ मा शनिबार बिहान आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले वर्तमान सरकारका गतिविधिले संसदीय व्यवस्थामा आँच पुगेको आरोप समेत लगाएका छन्।

सरकार काम केहि नगरि संमृद्धिको नारा लगायर मात्र बसेको, मुलुकमा जनअपेक्षा अनुसार सुशासन दिन विफल भएको तथा विकास बजेट खर्च गर्न नसकेको आरोप लगाउँदै ओली नेतृत्वको सरकार संघीयता असफल बनाउन उद्त रहेको आरोप पनि लगाए।

नेता सिंहले नेपाली जनतालाई अधिकार दिलाउनका लागि जस्तोसुकै मूल्य चुकाउन आफ्नो पार्टी तयार रहेको बताए।

अहिलेको सरकारमा रहेका दलहरु मुलुकमा द्धन्द्ध मार्फत सत्तामा पुगेको उदाहरण दिँदै माओबादी, एमाले जस्तो हिँसात्मक बाटोबाट राजनीतिमा स्थापित भएको पार्टी कांग्रेस नभएको दाबी समेत गरे।

आफुहरु जस्तो सुकै भयपनि जनमतको भने सम्मान गर्न सँधै तयार रहेको बताउँदै उनले नेकपाको दुई तिहाई बहुमतको सरकार मुुलुकमा भएपनि देश र जनताले कुनै पनि क्षेत्रमा राहत पाउन नसकेको बताए।

अहिलेको सरकारबाट देशले राहत नपाउने ठोकुवा गर्दै सिंहले संविधान बनाउँदा कम्युनिष्टका ४ जना विद्वान प्रधानमन्त्री भएपनि संविधान सभाले लक्ष्य हाँसिल गर्न नसकेको विषय ख्याल गर्न जनतामा आग्रह गरे।

दुई तिहाई वा बहुमत जस्तो भएपनि संविधानको भावना र मर्मबिपरीत अगाडी बढ्ने प्रयास सरकार वा त्यसको नेतृत्वले गर्छ भने कांग्रेस चुप लागेर नबस्ने भन्दै शसक्त रुपमा प्रतिबाद गर्ने चेतावनी उनले दिए।

यति बेला सरकारका गतिविधिले चौतर्फि क्षेत्रमा व्यापक निराशा छाएको बताउँदै उनले जतासुकै त्रासको वातावरण छाएपनि त्यसप्रति सजक रहन सरकारलाई सुझाव दिए।