आर्थिक सन्नाटाको स्थितिमा सुधार नगरी संमृद्धि असम्भवः श्रेष्ठ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
umesh_Shrestha_himaldainik
हिमाल दैनिक
काठमाडौं, वैशाख ३०

नेपाली कांग्रेसका सांसद तथा शिक्षाविद् उमेश श्रेष्ठले आर्थिक रुपले अहिले देशमा सन्नाटाको स्थिति रहेको भन्दै गम्भिर चिन्ता व्यक्त गरेका छन्।

सरकारको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभामा जारी छलफलमा सोमबार बोल्दै उनले देश विकास र उन्नतीका लागि सबै भन्दा पहिले अर्र्थ निति राम्रो हुनु पर्नेमा जोड दिँदै त्यसले मात्रै देशले चाँडो फड्को मार्न सक्ने बताए।

‘अहिले हामी सन्नाटाको अवस्थामा छौा। जस्तो कि ९ महिनामा हाम्रो बजेट घाटा झण्डै झण्डै १० खर्ब छ। पूँजीगत खर्च हामीले ४० प्रतिशत सम्म खर्च गर्न खोजिएको छ। जहासम्म लाग्छ, आगामी वर्षको बजेट १५ खर्बको हाराहारीमा जम्मा भएपनि खर्च गर्न सक्ने पाँच खर्ब जति पूँजीगत क्षेत्रमा खर्च गर्न सक्छौँ होला।’

हाम्रा आवश्यकता वा देशको आवश्यकता धेरै भएको बताउँदै उनले प्राथमिकता हेरेर राज्यले बजेट बनाउन सक्यो र खर्च गर्न सक्ने क्षमताको विकास गर्न सक्यो भने मात्रै विकास र उन्नती प्रगति सम्भव हुने बताए।

राज्यले भौतिक पूर्वाधार र रोडमा धेरै खर्च गर्न उनले जोड दिए। ‘रेल र पानीजहाज ल्याउने कुरा दोस्रो कुरा हो। एक किलोमिटर रेलको लिक बनाउन ५० करोड रुपैयाँ भन्दा बढि लाग्दछ भने सोच हामीले ठूलो राख्ने हो तर, व्यवहारिक पक्षमा रोडको सञ्जाललाई प्राथमिकता दिनु पर्छ,’ उनले भने।

सरकारले बनाएका नीति र योजनाको कार्यान्वयन पक्ष फितलो रहेको भन्दै उनले सरकारलाई कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन पनि सुझाए।

‘देशलाई धनि बनाउनु परेको छ। तर, हामी निर्यात भन्दा आयातमुखी र आम्दानीको स्रोत भनेको भन्सारमा उठेको राजस्वले देश चलाउन खोजेर हामी सफल हुन सक्दैनौँ,’ उनले भने।

यसका लागि भौतिक पूर्वाधार, उद्योग, व्यवसाय, व्यापारमा ध्यान दिनु परेको उनले बताए।

‘हाम्रो सोचाइ छ सबै राज्यले गर्नु पर्दछ। संसारभरी यो होइन, अहिले चालिस प्रतिशत राज्यले र साठी प्रतिशत प्राइभेट सेक्टरले गर्छ। किन यहाँ उद्योग, व्यवसाय व्यापारमा आउँदैनन् भन्ने कुरा जरुरी छ,’ श्रेष्ठले भने।

अहिले चलायमान सन्नाटाको अवस्था रहेको बताउँदै आर्थिक स्थिति पनि चलायमान नभएको बैंकहरुले चर्को व्याजदर १२ प्रतिशत व्याज लिएर पनि चाहेको अवस्थामा पाँच करोड ऋण दिन सक्ने अवस्था नभएको बताए।

उनले जति आर्थिक स्थिति चलायमान भयो त्यति अर्थतन्त्र सबल हुने बताउँदै देश धनी बनाउने हो भने बजेट छर्ने काम बन्द गर्न सुझाव दिए।
‘त्यसका लागि पहिलो उर्जा हो जसको पूर्वाधार नै छैन। अनेक दुःख गरी उर्जा उत्पादन गर्न लाग्दा राज्यले त्यसलाई संरक्षण गरी त्यसपछि दोस्रो प्राथमिकतामा कृषि क्षेत्रलाई राख्नु परेको छ,’ उनले भने।

कृषिको किन विकास हुन सकेको छैन भने उत्पादन भएपछि सहुलियत भएन। उत्पादन नगरी अगाडि नै सहुलियत दिँदा प्रतिफल आएन। कृषिको व्यवसायिकरणका लागि ठूला कृषि आयोजना संचालन जरुरी छ। त्यसका लागि सिंचाइको सुविधान दिनु जरुरी भएको उनले बताए।

यसको अववा पूर्वाधारको पनि पूर्वाधार शिक्षा हो भन्दै श्रेष्ठले भने, ‘दुःखको कुरा हो अहिले पनि नेपालबाट ६ सय विद्यार्थी मेडिकल शिक्षाका लागि विदेश गएका छन्। जम्मा साठी सत्तरी हजार बाहिर गएका छन्। विदेशमा उच्चशिक्षामा मात्रै चालिस पचास अर्ब पैसा बाहिर गएको छ।

नेपाल जस्तो मुलुकलाई शिक्षा र स्वास्थ्यको हव किन बनाउन सक्दैनौँ? यसका लागि या त सेवा मुखी हुन्छ भनि नीति बनाउँ, राज्यले गर्ने ठाउँमा राज्यले गर्नु पर्यो।’

अहिले निजी क्षेत्रलाई व्यवसायमूलक शिक्षा सञ्चालन गर्न दिनु पर्छ। सबै राम्रा राम्रा संस्थालाई यसरी चलाउँ भनि नीति जरुरी भएको उनले बताए।

नेपाल गौतमबुद्ध जन्मिएको देश, सगरमाथाको देश भएपनि पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास अझै हुन सकेको छैन। यस्तो अवस्थामा एक पटक आएको पर्यटक अर्को चोटी नआउने उनले बताए।

अहिले प्रदेश÷प्रदेशबीच प्रतिस्पर्धाको भावना ल्याउनु परेको छ। प्रदेश ६ र ७ मा उद्योग संचालन गरी निर्यात गर्न सक्यो भने त्यसलाई दश वर्षको कर छुट दिने र भौतिक पूर्वाधारको विकास गरिदियो भने विकास सम्भव छ। केहि नगरेर यी प्रदेशहरु कहिल्यै पनि प्रगतिको विन्दुमा जान सक्दैनन्।

प्रतिस्पर्धात्मक ढंगले रोजगारको श्रृजना र पूँजीको चलायमानले मात्रै देश विकास सम्भ छ। पूँजी अहिले स्थिर अवस्थामा छ बताउँदै उनले वितरण मुखी अर्थनीतिले देश धनि हुन नसक्ने बताए।