लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट आवश्यक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख ३०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा सोमबार काठमाडौंमा गरिएको ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उनले ती धार्मिकस्थललाई जोडेर सर्किट बनाएर मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताए।

उनले हिन्दू र वौद्ध धर्मलाई जोड्ने सर्किट बनाउन सके विश्वको ध्यान केन्द्रीत गर्न सकिने समेत धारणा राखे। जनकपुर, पशुपतिनाथ र लुम्बिनीलाई ज्ञान विज्ञानको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

यस्तै उनले नेपाल र भारतका शक्तिपिठलाई जोड्ने सर्किट बनाउनुपर्ने बताए। नेपालका शक्तिपिठ र भारतका शक्तिपिठ मिलाएर शक्तिपिठ सर्किट बनाउने हो भने पर्यटन विकासमा क्रान्ति ल्याउन सकिने उनको भनाइ थियो। उनले मिथिला सभ्यतालाई ज्ञान, आर्थिक समाजिक र विकासको केन्द्रको रुपमा लैजानुपर्ने समेत धारणा राखे।

जनकपुरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र दुवै प्रधानमन्त्रीद्वारा रामायण सर्किटको उद्घाटन, अयोध्यामा चल्ने बसको उद्घाटन जस्ता कार्य्मिथिला सभ्यतालाई नै बुझेर गरेको उनले उल्लेख गरे। उनले ल्हासाबाट रेल चाँडै अब आइपुग्ने भन्दै त्यसले पर्यटन र विकासका निम्ति कोशेढुङ्गा सावित गराउने बताए।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त) प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले जनकपुरलाई सबै हिन्दूको धार्मिकस्थलको रुपमा विकास गरिनुपर्ने बताए। कार्यक्रममा अरविन्द मिश्रले मिथिला, सीता र राजा जनकबारे ‘मिथिला र जनकवंशः एक संक्षिप्त इतिहास’ कार्यपत्र प्रस्तुत गरेका थिए ।