सरकारलाई मेलम्ची आयोजना समयमै सम्पन्न गर्न निर्देशन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ १ जेठ

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामसमयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम छिटो सम्पन्न गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो । खानेपानी तथा सरसफाइ नीति ल्याउन, खानेपानी र सरसफाइका क्षेत्रमा सञ्चालित योजनाका काम समयमै सम्पन्न गर्न अनुगमन प्रभावकारी गर्न पनि समितिले मन्त्रालयलाई निर्देश दिएको छ ।

तराई÷मधेशका जिल्लामा खानेपानीमा देखिएका आर्सेनिक र हिमाल एवं पहाड जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा लिफ्टमा माध्यमबाट खानेपानी उपलब्ध गराउन पनि समितिले निर्देशन दिएको छ भने संविधान प्रदत्त स्वच्छ खानेपानी पिउन पाउने जनताको मौलिक अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्नसमेत मन्त्रालयलाई निर्देश गरेको छ ।

समितिले सरकारको नीति तथा कार्यक्रम अनुसारनै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न र गराउन पनि खानेपानी मन्त्रालयलाई सचेत समिति सभापति कल्याणी खड्काले जानकारी दिईन।

बैठकमा खानेपानी मन्त्री बीना मगरले प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सो जानकारी दिँदै खानेपानी योजना हुने, कार्यालय नहुने, कार्यालय हुने, योजना नहुने स्थितिलाई अन्त्य गरिने बताईन्।

भूकम्पले क्षति पु-याएका ७७८ खानेपानी योजनामध्ये १०९ योजना मात्र सम्पन्न हुने बाँकी रहेको भन्दै उनले सम्पन्न हुन बाँकी योजना पनि आगामी वर्षभित्र सम्पन्न हुने जानकारी दिईन।

बैठकमा सांसदले खानेपानी र सरसफाइ योजना बनाउँदा प्रभाव र दबाबभन्दा आवश्यकताका आधारमा छनोट गर्न, अधुरा खानेपानी योजनालाई सम्पन्न गराउन, सुख्खाग्रस्त क्षेत्रमा लिफ्टका माध्यमबाट पानी पु-याउन र मेलम्ची खानेपानी आयोजनाका बाँकी काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

खानेपाानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले खानेपानी तथा सरसफाइसम्बन्धी नयाँ ऐन तर्जुमा गर्न लागेको, पहुँच र प्रभावका आधारमा मन्त्रालयले खानेपानी योजना तर्जुमा नगरेको स्पष्ट पार्दै आर्थिक समृद्धिका लागि खानेपानी क्षेत्रमा बजेट वृद्धि गरिनुपर्नेमा जोड दिए।