कर्मचारी थुनेर विवादमा परेका मन्त्री यादवद्धारा मन्त्रालयमै कर्मचारीमाथि दुव्र्यवहार!

मन्त्री मातृका यादवले दोहोर्याए ११ वर्षअघिको घटना

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवमाथि कर्मचारीहरुलाई आफ्नै कार्यालयमा दुव्यवहार गरेको आरोप लागेको छ।

आजभन्दा ११ वर्षअघिको घटनालाई पुनर्ताजगी दिँदै बुधबार अपरान्ह सरुवाको विषमया कुरा गर्न पुगेका कर्मचारी युनियन (संघ)का केन्द्रीय उपाध्यक्ष उत्तम कटुवालसहितको टोलीलाई मन्त्री यादवले निजी सचिव प्रेम आचार्यको कार्यकक्षमा ठेल्दै थुन्न आदेश दिएको प्रतिनिधि मण्डलका सदस्य कटुवालले हिमाल दैनिकलाई जानकारी दिए।

‘कर्मचारी समायोजनको विषयमा मन्त्रालयले मापदण्ड बनाएर सबै कर्मचारीको सरुवा र पदस्थापन न्यायोचित र समान व्यवहारमा हुनुपर्ने भन्दै हामी मन्त्रालयमा अपरान्ह ३ बजेपछि गएका थियौँ,’ उपाध्यक्ष कटुवालले भने, ‘केही समय पर्खिएपछि मन्त्रालयकी सचिव यमकुमारी खतिवडा कार्यालयमा आउनु भयो र उहाँसँगको कुराकानी अत्यन्त सकारात्मक भयो।’

त्यसपछि मन्त्री यादवका निजी सचिवसमेत रहेका उपसचिव प्रेम आचार्यले कर्मचारीको सरुवाको विषयमा मन्त्रीलाई गलत ब्रिफिङ गरेको र आस्थाका आधारमा कसैको पदस्थापन र सरुवामा सहजै काम हुने तर, प्रजातान्त्रिक विचारधारा पक्षधर कर्मचारीलाई भेदभावपूर्ण व्यवहार गर्ने कार्य किन गरेको भन्दै युनियनका प्रतिनिधिहरुले आचार्यलाई र्याखर्याख्ती पारे।

निजी सचिव आचार्यसँग कुरा गरेपछि मन्त्री यादवलाई समस्याबारेमा कुरा गर्न जाने तरखरमै रहेकोबेला मन्त्री यादव एक्कासी आफ्नो कार्यकक्षबाट बाहिर आएर ‘यिनीहरु को हुन? लगेर थुनिदे’ भनि आदेश दिने र त्यहाँबाट ठेल्ने काम गरेको कटुवालले बताए।

‘सरकारको मन्त्रीले आस्थाको आधारमा कसैलाई मापदण्डवीना पनि सरुवा र पदस्थापन गरिदिने तर, आफ्नो पार्टी निकट होइन भन्ने लागेको भरमा उपसचिव शोभाखर रेग्मी, आधिकारिक ट्रेड युनियन सदस्य विश्वबन्धु रेग्मीलगायतका कर्मचारीलाई सरुवा र पदस्थापन नगर्ने विभेदकारी व्यवहार भयो,’ कटुवालले भने।

केही समय अगाडि गृह मन्त्रालयबाट उपसचिव विनोद खड्कालाई पे्रम आचार्यले आफ्नो निकटताका आधारमा उद्योेगमा सरुवा गरेको आरोप कर्मचारीहरुले लगाएका छन्। फरक आस्था राख्ने अरु कर्मचारीलाई सरुवा र पदस्थापन नगर्न मन्त्रीलाई उक्साएको भनि वादविवाद भएकै बेला मन्त्री यादवले हातपात गर्ने उद्देश्यले जाइलागेको कर्मचारीहरुको आरोप छ।

मन्त्रीले आफूहरुलाई बरण्डासम्म ठेल्दै लगेको भन्दै कटुवालले यसको पुष्टिका लागि मन्त्रालयको सिसि क्यामेराको फुटेजमा हेर्न सकिने दाबी गरे।

शान्ति सम्झौता पश्चात तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको संयुक्त सरकारमा माओवादीका तर्फबाट बन मन्त्री बनेका यादवले सन २००८ जुनमा स्थानीय विकास अधिकार डुण्डुराज घिमिरेलाई डेढ घण्टासम्म शौचालयमा थुनेर चर्चामा आएका थिए।

यसपटकको मन्त्रिमण्डलमा विगतको तुलनामा केही शान्त रहेका मन्त्री यादवले बुधबारको घटनापछि पुनः पुरानो घटनाको स्मरण गराएको छन्।

यसबारे मन्त्री यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।