मुलुकको समृद्धिमा कला र साहित्य क्षेत्र महत्वपूर्ण: उपप्रधानमन्त्री पोखरेल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ २

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा बिहिबार काठमाडौंमा आयोजित नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटन गर्दे उनले मुलुकको समृद्धिमा कला र साहित्य क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुने बताए। उनले कुनै पनि राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको महत्वपूर्ण योगदान हुने र राष्ट्र निर्माणमा पनि यिनै पक्षको बलशाली भूमिका रहने चर्चा गरे।

उनले प्रदर्शनीले नेपालको कला र संस्कृतिलाई विश्व जगत्मा अझ नजिकबाट चिनाउने अपेक्षा गरे। उनले आपसी सम्पर्क र समन्वयका साथै प्रतिष्ठानले समय सान्दर्भिक कार्यक्रम गरेर कला जगत्को विकास र विस्तारमा उल्लेखनीय योगदान पुराएको यस क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताए।

कार्यक्रममा रु २५ हजार राशिको ललितकला पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक श्यामप्रसाद रिमाल सम्मानित गरिएको थियो । रिमालले पत्रकारिता र साहित्यका माध्यमबाट ललितकलाका क्षेत्रमा विगत साढे दुई दशकदेखि योगदान पुर्‍याउँदै आएका थिए।

यसैगरी राष्ट्रिय अरनिको ललितकला प्रज्ञा सम्मान वरिष्ठ कलाकार चिनीकाजी ताम्राकार र रतनकुमार राईलाई प्रदान गरियो । कार्यत्रममा कलाका विभिन्न विधा तथा राष्ट्रिय र प्रदेशस्तरमा गरी कूल ३७ श्रष्टालाई पुरस्कृत गरिएको थियो । प्रदर्शनी तीन सातासम्म चल्नेछ ।