गणतन्त्र दिवस विशेष रुपमा मनाउने कांग्रेसको तयारी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ३

नेपालमा गणतन्त्र स्थापना भएको एक दशक पगेको उपलक्ष्यमा नेपाली कांग्रेसले जेठ १४ देखि १६ गतेसम्म तीन दिन विशेष कार्यक्रम गरी मनाउने भएको छ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाले गणतन्त्र दिवसको सन्तदर्भमा काठमाडौंमा जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम, १५ गते बिहान प्रभातफेरी र बेलुका दीप प्रज्वलन तथा १६ गते संघीयताको कार्यान्वयन विषयमा विचार गोष्ठीको आयोजना गर्ने निर्णय गरेका हो।

पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले पहिलो पटक गणतन्त्र दिवसको उपलक्ष्यमा औपचारिक रुपमै कार्यक्रम गरी मनाउने निर्णय गरेको हो।

दास्रो जनआन्दोलनको सफलता पश्चात सम्पन्न पहिलो संविधान सभाको २०६५ साल जेठ १५ गते बसेको पहिलो बैठकमा तत्कालिन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रस्ताव अत्याधिक बहुमतले अनुमोदन गर्दै नेपालबाट २३८ वर्ष पुरानो शाह वंशीय राजतन्त्रको अन्त्य र नेपाललाई गणतन्त्रको घोषणा गरेको थियो।

उक्त घोषणालाई दोस्रो संविधान सभाले २०७२ साल असोज ३ गते जारी नेपालको संविधानले वैधानिकता दिँदै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो।

त्यसैगरी प्रतिष्ठानको बैठकले वैशाख २५ गतेदेखि पार्टीले सुरु गरेको एक महिनो राष्ट्रिय जागरणको कार्यक्रमसँगै समन्वय हुने गरी कार्यक्रम संचालन गर्ने र जिल्लामा हुने गणतन्त्र दिवसको कार्यक्रमलाई सहजीकरण गर्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट प्रतिनिधिहरु पठाउने निर्णय पनि गरेको छ।

यसका अतिरिक्त प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणको जागगरण अभियान सकिएर दोस्रो चरणको अभियान भदौ २४ गते सुरु हुनअघिको समयमा देशका सातै प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ।

यसका साथै प्रतिष्ठानले कांग्रेसका क्रियाशील सदस्यहरुका लागि १ दिने आधारभूत प्रशिक्षण कार्यक्रम संचालन गर्ने पनि जनाएको छ।

देशको सबै भन्दा पुरानो लोकतान्त्रिक पार्टीको इतिहास, यसका नेताहरुको त्याग र बलिदानदेखि लोकतन्त्रको संस्थागत विकासका लागि यसको आगामी कार्यदिशाको विषयमा आम जनतालाई सुसूचित गराउन प्रतिष्ठानले केन्द्रीय स्तर (काठमाडौं)मा र देशका अन्य भागमा पनि क्रमशः ‘नेपाली कांग्रेस मेला’ कार्यक्रमको आयोजना गर्ने पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रमको मिति र स्थानको विषयमा उपाध्यक्ष एवं प्रतिष्ठान प्रमुख निधिले पहिलो र दोस्रो चरणको जागरण अभियानकोबीचमा पर्ने असारदेखि भदौसम्मको अवधिमा यस्ता कार्यmक्रम सञ्चालन गरिने जानकारी दिए।