यात्रुबहाक बस हेटौँडामा जुध्दा एकको मृत्यु ३० घाइते

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
हेटौँडा, जेठ ४

पूर्व–पश्चिम महेन्द्र राजमार्गको हेटौँडा–३ स्थित बसामाडीमा विपरित दिशाबाट गइरहेका दुइ बस आपसमा जुध्दा एक जनाको मृत्यु हुनु भएको छ।

शनिबार बिहान काठमाडौंबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नम्बरको यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौं आउँदै गरेको ना ७ ख २०५७ नम्बरको यात्रुबाहक बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा इलामबाट आउँदै गरेको गाडीका चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, उदयपुर वरही गाउँपालिका घर भएका चालक वर्ष ४० का मानबहादुर मगरको उक्त दुर्घटनामा मृत्यु भएको छ भने अन्य ३० जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका चालक मगरको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो।

यात्रुबहाक बस दुर्घटनाको मुख्य कारण काठमाडाैंबाट जनकपुर जाँदै गरेकाे गाडीले आफूभन्दा अगाडिको बसलाई उछिनेर अगाडि जाने हतारोमा भएको हुन सक्ने प्रहरीको दाबी रहेको छ।

काठमाडौंबाट गइरहेको बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, गम्भीर घाइते तीन जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य घाइतेको हेटौँडास्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र सामान्य घाइते प्राथमिक उपचारपछि घर फर्किएको प्रहरीले बताएको छ।