यो अधिवेशनमा संविधान संशोधन नभए सरकार छोड्छौँः श्रेष्ठ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ४

नवगठित समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष एवं सत्तासाझेदार दलका नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टी संविधानले प्रत्याभुति गरेझैं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे।

उनले भने, ‘संविधानले नै प्रेसबारे राम्रो व्यवस्था गरेको छ। मौलिक हकका सम्बन्धमा पनि धेरै राम्रो संविधान छ।’

रिपोर्टर्स क्लबको कार्यक्रममा शनिबार बोल्दै श्रेष्ठले आफ्नो पार्टीले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुराको विरोध गर्ने पनि बताए। उनले भने, ‘हामी प्रेसलाई कुण्ठित गर्ने कुराको विरोध गर्दछौं। हामी सच्याउँछौं।’

उनले एभिन्यूज टेलिभिजनका पत्रकारले आफ्नो पार्टीका अध्यक्ष एवम् नेपाल सरकारका उपप्रधानमन्त्रीजस्तो व्यक्तित्वलाई मर्यादाबाहिर गएर प्रश्न गरेको र पटक पटक तपाई जान सक्नुहुन्छ भनेको कुरा पत्रकारिताको धर्म विपरित भएको टिप्पणी गरे।

उनले भने, ‘पत्रकारले मर्यादाभित्र बस्ने कुरालाई ध्यान दिनुपर्छ। मिडियामा कतिपय गलत समाचारहरु पनि सम्प्रेषण भइरहेका छन्।’

आफ्नो पार्टीको मुख्य नीति भनेको नै जनसंघर्ष नै भएको उनको भनाई छ। उनले भने, ‘सरकारसँग गरेको २ बुँदे सम्झौता कार्यान्वयन हुँदैन भने संसदको यो अधिवेशनभित्र संविधान संशोधन प्रक्रिया अघि बढाईएन भने हामी सरकारबाट बाहिरिन्छौं। सरकार, सडक र सदनबाट संघर्ष अगाडि बढाउँछौं।’

उनले समुन्नत संघीय समाजवाद विचारधारा मान्ने जो कोही पार्टीसँगपनि एकता हुने तर नमान्नेसँग एकता नहुने स्पष्ट पारे। उनले भने,‘यदि राजपाले यो विचारधारा मान्छ भने एकता हुन्छ, होइन भने हुँदैन्।’

प्रतिनिधिसभाका सदस्य समेत रहेका नेता श्रेष्ठले नेताहरुले कस्तो संस्कृति बसाउने भन्नेतर्फ विशेष ध्यान दिनुपर्ने सुझाए। पछिल्लो समय नेताहरुबीच कसले कति किलोको माला लगाउने भन्ने गलत संस्कारको विकास भएकोमा उनले चिन्ता व्यक्त गरे।

त्यस्तै, उनले सांसदहरुलाई माननीय पनि भनेर सम्बोधन गर्न नहुने धारणा राखे। उनले भने, ‘सांसदहरुलाई माननीय भन्ने ट्याग नै हटाउनुपर्छ।’

त्यस्तै, उनले जनताभन्दा माथि बस्ने कम्युनिष्ट हुनै नसक्नेपनि टिप्पणी गरे। उनले भने, ‘कम्युनिष्ट हो भने त त्यहीअनुसारको आचरण हुनुपर्छ।’

उनले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेकोमा आक्रोश पोख्दै राष्ट्रपति भण्डारीलाई सामन्ती युगको महारानीजस्तो भएको संज्ञा दिए।

उनले भने, ‘संविधानको धारा ७५ को उपधारा ३ मा नेपाल सरकारबारे प्रष्ट लेखेको छ। ओली नेतृत्वको सरकार विद्यादेवी भण्डारीको सरकार हो? होईन नि।’