यसरी भेटे मन्त्री बाँस्कोटाले नेम्वाङसहित आफ्नै पत्रकारको दनक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ५

सँधै जसो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वा सार्वजनिक सभामा पत्रकारहरुलाई हप्की दप्की लगाउँदै बोल्ने बानी परेका संचार तथा सूचना प्रविधि मन्त्री गोेकुल बाँस्कोटाले आइतबार आफ्नै पार्टी मुख्यालयमा आफ्नै दलका नेता र पत्रकारको खप्की खान बाध्य भए।

संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले संघीय संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेर चौतर्फी आलोचनाको केन्द्र बन्न पुगेको सरकारका प्रवक्ता एवं संचार बाँस्कोटाले मन्त्री भएपछि आफ्नै दलका नेता र पत्रकारबाट खप्की खानु परेको सम्भवतः यो पहिलो पटक हो।

विधेयकको विरोधमा स्वयं आफ्नै पार्टी निकट पत्रकारहहरुको संस्था र पत्रकारहरु समेत उक्त विधेयकको विरुद्धमा सडकमा पुगेपछि त्यसको बचाउ र सरकारको पक्षपोषणका लागि वातावरण निर्माणका लागि आयोजित बैठकमा पार्टीकै नेताले भित्तामा पुग्नेगरी व्यंग्यवाण दिएपछि मन्त्री बाँस्कोटा अक्क न बक्क बन्न पुगे।

आइतबार बिहानै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका करिब एक दर्जन पत्रकार तथा पार्टीका केही नेताहरु पार्टी कार्यालय धुम्ब्रबाराहीमा बोलाइएको थियो।

छलफलमा मन्त्री बास्कोटाको आशा थियो कि कानूनका ज्ञाता समेत रहेका नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आफ्नो कला र ज्ञानका आधारमा पत्रकारलाई सम्झाई सरकारको पक्षमा कलम चलाउन र विरोधमा नउत्रिन आवश्यक वातावरण बनाइदिने छन्। तर, भयो उल्टो।

बैठकमा उपनेता नेम्वाङले शिष्ट भाषामा भने, ‘सामान्यतः सरकारले ल्याउने कुनै पनि कानूनका विषयमा जो कोहीले पनि ठान्दछ कि त्यो विधेयक मस्यौदा गर्दा मलाई पनि सोधिन्छ र मलाई पक्कै जानकारी हुन्छ। तर, यो विधेयक कसरी बन्यो र अघि बढ्यो मलाई नै थाहा छैन।’

नेम्वाङले आफूलाई नै गाह्रो हुनेगरी यस्तो धारणा राखेपछि उनलाई बिचमा रोक्दै विधेयकको विषयमा मन्त्री बाँस्कोटाले बचाउको प्रयास गर्न थाले। मन्त्रीको त्यो व्यवहार देखेपछि रुष्ट बनेका पूर्व प्रेस चौतारीका अध्यक्ष शम्भु श्रेष्ठले मन्त्रीलाई सम्झाउँदै आफूँ भन्दा वरिष्ठ नेताहरुले बोलिरहेको बेलामा बिचमा बोल्न सुहाउँदैन कि भनि टिप्पणी गरे।

प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखेर विधेयक ल्याएर सरकारलाई नै अप्ठ्यारोमा पारेका मन्त्रीले आफ्नो गल्ती स्वीकार्न छोडि उल्टै सम्झाउन खोजेपछि पत्रकारहरुले उनलाई त्यो छलफलमा मन्त्रीको मन्त्रालयमा नभइ पार्टी कार्यालयमा उनीभन्दा शीर्ष नेताहरुको माझमा भइरहेको भन्दै आक्रोस व्यक्त गरेको बैठकमा सहभागी एक पत्रकारले बताए।

विधेयकमा राखिएका कतिपय प्रावधानहरुप्रति असन्तुष्टि जनाउँदै नेम्वाङले मिडियाले समाचार लेखेवापत जरिवाना गर्ने कुरामा आफू अहिलेमात्र होइन पञ्चायत कालदेखि नै असहमत रहँदै आएको भन्दै यस्तो विधेयक बनाउनु पहिले पार्टीभित्र परामर्श गरिएको भए राम्रो हुने धारणा राखे।

पत्रकारको आक्रोसपूर्ण प्रस्तुतिदेखि नेम्वाङ सालिनतापूर्वक दिएको शब्दवाणको झापडमा नेताहरु योगेश भट्टराई, पम्फा भुसालसम्म रमिते बनेपछि बाँस्कोटा बल्ल गले र सुरक्षित अवतरणको उपायको खोजिमा लागे।

नेम्वाङ लगायतका नेताहरुले नल्याउनु पर्ने प्रावधान राखेर विधेयक ल्याइसकेपछि अब आफूहरु विधेयक नै फिर्ता लिन मन्त्री र सरकारलाई भन्न नसक्ने बताउँदै अब जे जसरी हुन्छ त्यसमा राखिएका पत्रकारले आपत्ति जनाएका बुँदाहरु संशोधन गरी मिलाउन सुझाव दिएका थिए।