पाँचथरको मिक्लाजुङमा दुई परिवारका ९ जनाको विभत्स हत्या

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
फिदिम, जेठ ७

पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको हत्या भएको छ।

सोमबार राति स्थानीय वासिन्दा धनराज शेर्मा घरमा पाँच जना र उनका ससुरा बमबहादुर फियाकको परिवारका चार गरी नौ जना सदस्यको धारिलो हतियार प्रहार गरी हत्या भएको सरकारी संचार माध्यमहरुले वडाअध्यक्ष हस्तराज फियाकलाई उद्रीत गर्दै जनाएका छन्।

धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र र बाहिर विभत्स अवस्था भेटिएको छ।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन्।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएको समाचारमा उल्लेख छ। उनी गम्भीर घाइते भएकी छिन्। मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए। घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो।

घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ।