लेखा समितिमा घिसिङ र मोदीबीच वाकयुद्ध

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
बिष्णु बुढाथाेकी
काठमाडौं, जेठ ७

नेपाललाई लोडसेडिङ मुक्त गरेर सर्वत्र वाह वाह कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद अमनलाल मोदीबीच आरोप प्रत्यारोपको जुहारी चलेको छ।

नेपला विद्युत प्राधिकरणको डेडीकेटेड फिडत तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने उद्योग तथा व्यापारिक ग्राहकबाट वक्यौता उठाउने विषयमा प्रतिनिधि सभा अन्तरगत सार्वजनिक लेखा समितिको बैठकमा घिसिङ र मोदीबीच घम्साघम्सी नै भयो।

मंगलबार बसेको समितिको बैठकमा सांसद मोदीले प्राधिकरणले भक्तबहादुर पुनको संयोजकत्वमा गठन गरेको छानविन समितिले एक वर्षअघि बुझाएको प्रतिवेदन अनुसार प्राधिकरणले डेडीकेटेड फिडर र ट्रंक लाइन उपभोक्ताबाट समयमा महसुल नउठाएर प्राधिकरणमा अहिले नीतिगत भ्रष्टाचार भइरहेको आरोप लगाए।

७४ सालमा तत्कालिन लेखा समितिले वक्यौता उठाउने विषयमा दिएको निर्देशनको समेत प्राधिकरणले कुनै जवाफ अहिलेसम्म नदिएकोमा असन्तुष्टि व्यक्त गर्दै सांसद मोदीले भने, ‘कुलमान घिसिङले देशबाट लोडसेडिङ अन्त्य गरेको हो अब भ्रष्टाचार गर्न पनि छुट पाउनु पर्छ भन्ने दम्भ देखिएको छ।’

उनले हालै कार्यकारी निर्देशक घिसिङले त्रिशुलीस्थित जलविद्युत परियोजनमा विभिन्न माग राख्दै अवरोध पुर्याउन खोज्ने स्थानीयलाई गरेको व्यवहारप्रति आक्रोसित हुँदै प्रश्न गरे, ‘त्यहि दम्भका आधारमा मान्छे थुन्छु भन्न? प्रधानमन्त्रीले त मान्छेलाई थुन्छु भन्न सक्कुहुन्न भने तपाई को हो र मान्छु थुन्छु भन्न?’

सांसद मोदीले बोल्दा समितिका सदस्यहरु र पत्रकारसमेत आश्चर्यचकित भएका थिए।

सांसद मोदीले घिसिङको कार्यशैली र गतिविधिप्रति गम्भिर आशंका व्यक्त गर्दै मोरङमा पहिले कुनै एक जना पुलिसको एसपीले सरुवा भएर गएको पहिलो तीन महिना सबै कुरामा कडिकडाउ गर्ने पछि त्यहाँका उद्योगी र अन्य व्यक्तिलाई बार्गेनिङ गर्ने जस्तै कुलमान घिसिङले प्राधिकरणमा गरिरहेको आरोप लगाए।

साथै उनले काशी करिडोरमा विद्युत लाइन विस्तारको पहिलेको ठेक्का रद्द गरी अर्कोलाई दिँदा करोडौं रुपैयाँ राज्यलाई ठग्ने काम गरेको भन्दै प्राधिकरणको नेतृत्वमाथि नै गम्भिर प्रश्न उठाए।

यसैगरी उनले नेपालको विद्युत उत्पादन गृहमा क्षमताभन्दा कम विद्युत उत्पादन गरी भारतबाट बढि आयात गर्ने काम कुलमानले गरिरहेको आरोप लगाउँदै भने, ‘कम्मल ओढेर घ्यू खाने काम गर्नेले बुझ्नु पर्छ नेपालबाट ज्ञानेन्द्र शाहको त अन्त्य भयो भने तपाई पनि सधैँ रहनु हुन्न।’

प्राधिकरणको नाममा रहेको जग्गाको पूर्जादेखि त्रिशुलीमा जडान हुन लागेको सोलार प्लान्ट लगायतका समग्र विषयमा छानविन गर्न लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखि पठाउनु पर्ने माग सांसद मोदीले गरे।

स्पष्टिकरण दिने क्रममा कार्यकारी निर्देशक घिसिङले आफूहरु प्राधिकरणमा सुधारका लागि इमान्दारीताका साथ काम गरिरहेको बताउँदै विद्युत उत्पादन प्रक्रियामा कहिँ कतै अवरोध आएमा त्यसको समाधान पनि आफूहरुले नै दिनु पर्ने भन्दै त्रिशुलीको घटनाको बचाउ गरे।
कटारी सवस्टेशनको विषयमा मोदीसँगको विवादका कारण विगत ६ महिनादेखि काम हुन नसकेको आरोप लगाउँदै घिसिङले प्रतिवाद गरेपछि मोदीले समितिका सदस्यहरुमाथि तथ्यहिन आरोप लगाएर बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाए।

समितिको बैठक संचालन गरिरहेका सभापति भरतकुमार शाहले एक आपसमा वादविवाद नर्गन भनेपछि कुलमान घिसिङले कड्किँदै भने, ‘मैले पनि भ्रष्टाचार गरेको भए प्रमाण देखाउँ। म झुण्डिएर मर्न तयार छु।’