महेश बस्नेतले कांग्रेसका छायाँ मन्त्रीको कार्यकाल २०/३० वर्ष टिकोस् किन भने?

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ८

संसदीय लोकतान्त्रिक शासन व्यवस्थामा सत्तापक्षको नेता प्रधानमन्त्री बन्दै सरकार गठन गर्छ त प्रमुख प्रतिपक्षी दलको नेतालाई वेटिङ प्राइममिनिस्टर पनि भन्ने गरिन्छ।

यहि अभ्यास अन्तरगत प्रमुख प्रतिपक्षी दलले छायाँ मन्त्रिमण्डल बनाउने विषय स्वभाविक हो जसले सरकारका हरेक निकायमा भइरहेका गतिविधिहरुको सूक्ष्म अध्ययन गरी सदनमा सरकारको ध्यानाकर्षणसँगै सडकमा जनतालाई सचेत गराउँदछ।

सोही मान्यता र अभ्यास अनुरुप हालै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरुलाई विभिन्न मन्त्रालयको काम कारबाही र गतिविधि हेर्न संयोजक र सदस्यसहितको सूचि सार्वजनिक गर्यो। जसलाई उक्त पार्टी र सञ्चारमाध्यमहरुले छायाँ मन्त्रिमण्डलको नाम दिए।

तर, उक्त अभ्यासलाई सत्तापक्षकै सांसदले भने गलत ढंगले व्याख्या र विश्लेषण मात्र गरेनन्, लोकतान्त्रिक शासन व्यवस्थामा आशंका समेत जन्मिने अभिव्यक्ति दिए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले बुधबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै कांग्रेसको छायाँ सरकार गठनलाई सत्ताभन्दा बाहिर रहन नसक्ने स्वभावको परिणामको संज्ञा दिए।

त्यतिमात्र होइन, सांसद बस्नेतले कांग्रेसलाई सम्वाद र सहकार्यको अभियान अघि बढाउन सुझाव दिँदै व्यंग्यात्मक शैलीमा छायाँ मन्त्रीहरुलाई बधाई र शुभकामना पनि दिए।

बोल्दै जाने क्रममा बस्नेतले विपक्षीलाई व्यंग्यवाण त हाने नै त्यो भन्दा ज्यादा संविधान र कानून त प्रत्येक पाँच वर्षको अन्तरालमा लोकतान्त्रिक शासन व्यवस्थामा हुने आवधिक निर्वाचन कतै नगर्ने त होइन भन्ने आशंका र विवादस्पद अभिव्यक्ति दिए। जसले लोकतान्त्रिक शासन व्यवस्थाप्रति वर्तमान सरकारको प्रतिबद्धताबारे विभिन्न क्षेत्रमा आशंका उब्जिरहेको बेला बस्नेतको अभिव्यक्तिले त्यो आशंकालाई थप मलजल गरेको छ।

उनले भने, ‘छायाँ र दायाँ/वायाँ गरेर झण्डै ४८ सदस्यीय मन्त्रिमण्डल बनाएको रहेछ, म सबै मन्त्रीज्यूहरुलाई हार्दिक स्वागत र बधाई दिन चाहन्छु। उहाँहरुको कार्यकाल २० वर्ष ३० वर्षसम्म कायम रहोस् यो पनि म शुभकामना दिन चाहन्छु।’

प्रधानमन्त्री केपी शर्मा ओलीका अतिनिकट र अनन्य भक्त बस्नेतले कांग्रेसका छायाँ मन्त्रीहरुको कार्यकाल २० वर्ष, ३० वर्षसम्म कायम रहोस् भनि दिएको अभिव्यक्ति कतै वर्तमान सरकार र त्यसकाे नेतृत्वकाे योजना र रणनीति अनुरुप अबको साढे तीन वर्ष अर्थात २०७९ भित्रै आवधिक निर्वाचन नगराएर यहि सरकारलाई २०/३० वर्षसम्म अकंटक चलाउने योजनाको पटाक्षप त होइन? होइन भने यो संसदको कार्यकाल नै जम्मा साढे तीन वर्ष बाँकी छ भने, त्यसका छायाँ मन्त्रीहरुको कार्यकाल कसरी २०/३० वर्षसम्म कायम रहने शुभकामना किन दिए सांसद बस्नेतले? यसको जवापफ बस्नेतले नै दिउन्।