३५ बर्षपछि भारतमा नयाँ इतिहास रच्दै मोदी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ९

भारतको राष्ट्रिय राजनीतिमा नरेन्द्र मोदीको आगमनपछि भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो भोट प्रतिशतमा नयाँ इतिहास रच्दै आएको छ।

सन् २०१४ मा पहिलो पटक भाजपाले पूर्ण बहुमत हासिल गर्दै प्रधानमन्त्री मोदी नेतृत्वको सरकार गठन गरेको थियो।

पाँच वर्षसम्म मोदी सरकारले गरेको काम कारबाहीलार्ई हालै सात चरणमा सम्पन्न लोकसभा निर्वाचन मार्फत भारतीय जनताले अनुमोदन मात्रै गरेनन्।

देशभरी नै मोदीको नारालाई अत्याधिक मतले समर्थन गर्दै उनको जादूमा मन्त्रमुग्ध बन्न पुगेका छन्।

मोदी नामको सुनामी २०१९ को चुनावमा २०१४ को चुनाव भन्दा ठुलो र फराकिलो अन्तरको जीततिर लम्किदै छ।

यो जीत सन् १९८४ मा भएको आम चुनावमा राजीव गान्धीको जीतलाई पनि फिका बनाएको छ। सन् १९८४ को चुनावमा कांग्रेसको जीतलार्ई भारतीय राजनीतिमा अहिले सम्मकै ठुलो जीतको रुपमा लिइँदै आएको थियो।

तर, ३५ बर्षपछि भएको चुनावमा भाजपाले राजिव गान्धीको जीतको त्यो रेकर्डलाई उछिनेको छ। भाजपा नेतृत्व गठबन्धनले ५० प्रतिशत भन्दा बढि मत प्राप्त गर्न सक्ने भारतीय संचारमाध्यमहरुले बताएका छन्।

सन् १९८४ मा तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि सम्पन्न लोकसभा चुनावमा कांग्रेसले एक लौटी जीत हासिल गरेको थियो। त्यस बखत कांग्रेसले ४८.१ प्रतिशत मत हाँसिल गर्दै जीत हासिल गरेको थियो। राजिवले त्यो जीत हाँसिल गर्दा भाजपा स्थापना भएको केवल ४ बर्ष मात्र भएको थियो। त्यतिबेला उक्त पार्टीले जम्मा दुई सिट र ७.४ प्रतिशत भोट प्राप्त गर्न सफल भएको थियो।

तर, ३५ वर्षको राजनीतिक इतिहासमा धेरै पासा पल्टिएको छ। लोकसभामा बहुमत प्राप्त गरी सरकार गठनका लागि आवश्यक २७२ सीटको आँकडालाई भाजपा एक्लैले यसपटक पनि पार गर्ने बलियो आधार पेश गरेको छ।

अहिलेसम्म ताजा मतगणनाका अनुसार, मोदीले चुनावी सभामा लगाउँदै आएको नारा ‘अब कि बार ३०० पार’ न भन्दै भाजा गठबन्धनले पार गरेको छ।

सन् २०१४ को चुनावमा बिजेपीले २८२ सीट हासिल गरेको थियो। अहिलेसम्म मतगणनाको ताजा परिणाम अनुसार भाजपाका १५ जना उम्मेदवार विजयी भइसकेका छन् भने उक्त पार्टी नेतृत्वको गठनबन्धन थप ३३१ स्थानमा अग्रता लिइरहेका छन्।