पूर्वमन्त्री सलिममियाका छोरा युनिस ७ कराेड नक्कली भारु सहित पक्राउ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १०

नेपाल प्रहरी र विमानस्थल भन्सारको संयुक्त टोलीले नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ।

पाकिस्तानबाट कतारको दोहा हुँदै नेपाल आएका पाकिस्तानी नागरिक नासिर उद्दिनसहित अन्य ३ जनालाई दुई हजार दरको ठूलो परिमाणको भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

यस्तै उनीहरुलाई लिन विमानस्थल पुगेका नेपाली नागरिक युनुस अन्सारीसहित अन्य २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिइ शुक्रबार नै महानगरिय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा ६७ वर्षीय नासिर उद्दिनसँगै नेपाल आएका ४९ वर्षीय मोहम्मद अफ्तर र ३९ वर्षीय नदिया अनवर तथा अन्सारीसंगै रहेका सुयल खान र गाडी चालक सुदन रानाभाट रहेका छन्।

पत्रकार सम्मेलनमा महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले बिमानस्थलमा सुरक्षा जाँच गर्नेक्रममा शंका लागेपछि खानतलासी गर्दा नक्कली नोट बरामद भएको जानकारी दिए।

उनले नक्कली भारु सहित पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको पनि बताए।

पक्राउ परेका मध्य अन्सारीलाई यसअघि २०७० साल माघमा ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो।

पूर्व मन्त्री सलीममिया अन्सारीका छोरासमेत रहेका उनी नेशनल टेलिभिजनका सञ्चालक रहेका थिए।

उनी जेल परेपश्चात टेलिभिजन बन्द भएको थियो। अन्सारीमाथि सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामै रहेका बेला भारतीय नागरिक जसजीत सिंहले गोली प्रहार समेत गरेका थिए।