प्रम क्रिकेट कपः त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १०

विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

शुक्रबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २७९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले ३१ ओभर ४ बलमा अलआउट हुँदै १०७ रन मात्र बनाउन सक्यो।

प्रदेश २ का लागि हरीशंकर साहले सर्वाधिक २१ रन बनाए। यस्तै संसद शेखले १६, सुधीर चौधरीले १५ रन जोड्दा राशिद खानले १४ रन बनाए।

प्रदेश २ लाई सस्तैमा समेट्न आर्मीका साहब आलमले ४ विकेट हात पारे। यस्तै जितेन्द्र मुखिया र सुसन भारीले समान २–२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७८ रन बनाएको थियो।

आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय इनिङ्स खेले। त्यस्तै आर्मीका रोहित कुमार पौडेलले ४७ रन जोड्दा हरि चौहानले २६ रन बनाए।

सुशन भारी १२ रनमा अविजित रहे। प्रदेश २ का हरिशंकर साहले ३ विकेट लिएका थिए।